• सिहंदरबार परिसरमा निर्माणाधीन भवनमा दिन र रात गरेर दुई सिफ्टमा काम भइरहेको छ ।
  • संसद् भवन निर्माणमा ढिलाइ भएपछि अहिले राति पनि काम थालिएको छ।
  • निर्माणको समय थोरै भएकाले दुई सिफ्टमा काम गरी पुस १६ भित्र सक्ने लक्ष्य राखिएको छ।
  • निर्माणको प्रगति ८७ प्रतिशत पुगेको छ भने नयाँ संसद् भवन छिटो सम्पन्न गर्न संघीय संसद् सचिवालयले समेत ताकेता गरेको छ।

काठमाडौँ संसद् भवन निर्माणमा ढिलाइ भएपछि अहिले रातिमा पनि काम थालिएको छ । सरकारले फागुन २१ मा निर्वाचनको मिति तोकिसकेको र त्यसपछि नयाँ आउने संसद् बस्ने भवन नभएपछि छिटो निर्माण सक्न भन्दै रातमा पनि काम थालिएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । सिहंदरबार परिसरमा निर्माणाधीन भवनमा दिन र रात गरेर दुई सिफ्टमा काम भइरहेको छ ।

विभागका महानिर्देशक रवीन्द्र बोहराका अनुसार निर्माणको समय थोरै भएकाले छिटो सक्नेगरी रातमा पनि काम सुरु गरिएको हो । ‘अहिले दुई सिफ्टमा काम भइरहेको छ,’ उनले भने, ‘राति सिलिङ र ढलानको काम भइरहेको छ ।’ दुईवटा ठेक्का भएकाले दिउँसो भवनभित्र इन्टेरियरको काम हुने गरेको उनको भनाइ छ ।

‘विगतमा विभिन्न कारणले गर्दा निर्माणमा केही ढिलाइ भयो,’ उनले भने, ‘अब ढिला गर्न छुट छैन, छिटो सक्नेगरी काम भइरहेको छ ।’ उनले सरकारी निकायबाट गर्नुपर्ने निर्णयमा केही ढिलाइ नगरेको र प्रक्रिया पूरा गरेर छिटो–छिटो निर्णय गरिएको बताए । ‘निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी रोकेका छैनौं,’ उनले भने, ‘पुसभित्रै सक्नेगरी काम भइरहेको छ ।’

सिंहदरबार परिसरमा १६ असोज २०७९ भित्रै संसद् भवन निर्माण गरिसक्ने लक्ष्यका साथ १६ असोज २०७६ मा ठेक्का लगाइएको थियो । निर्माण नसकिएपछि पााचौं पटक थपिएको म्याद पनि १६ पुसमा सकिँदै छ । डेढ महिना समय बाँकी रहँदा भवन निर्माणको प्रगति भने ८७ प्रतिशत छ । नयाँ भवनमा २ सय ७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रिय सभा छुट्टाछुट्टै हलमा चलाउन मिल्ने गरी तयार गरिँदै छ ।

ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री भएलगत्तै कुलमान घिसिङले तोकिएकै समयभित्र काम सक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । संसद् भवन निर्माणको ठेक्का तुन्दी–सेक जेभीले लिएको हो । यसको ठेक्का रकम ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँ छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनपछि नै संसद् बैठक नयाँ भवनमा बस्ने लक्ष्यसहित यसको निर्माण थालिएको थियो ।

१६ असोज २०७६ को सम्झौताअनुसार काम नसकिएपछि पहिलो पटक ३० चैत २०७९ सम्म म्याद थपिएको थियो । दोस्रो पटक १९ असोज २०८० सम्म, तेस्रो पटक १९ चैत २०८० सम्म म्याद थप गरिएको थियो । चौथो पटक थपिएको म्याद १८ चैत २०८१ सम्ममा पनि काम नसकिएपछि फेरि म्याद थपियो ।

‘इन्टेरियर’ को छुट्टै ठेक्का २ अर्ब ३४ करोड ५४ लाख रुपैयाँमा केसी–श्यामसुन्दर–बानियाँ जेभीले लिएको छ । यसको काम असार २०८१ भित्र सक्ने गरी १७ असार २०८० मा सम्झौता भएको थियो । पछि समय थप गरेर १६ चैत २०८१ सम्म पुर्‍याइए पनि काम नसकिएपछि पुनः आगामी १६ पुससम्मकै लागि म्याद थपिएको छ ।

यसमा २५.५८ प्रतिशत मात्र छ । ठेक्काअनुसार प्रतिनिधि र राष्ट्रिय सभाको सेन्ट्रल लबी, भीआईपी ब्लकमा ‘इन्टेरियर’, ‘कन्फरेन्सिङ सिस्टम’को काम गर्नुपर्नेछ । सम्पूर्ण ब्लकहरूमा फर्निचर र फर्निसिङ, प्रवेशद्वारलगायत भवन परिसरमा सुरक्षा प्रणाली जडान गरिनेछ । अहिले कामको गति बढेकाले पुस १६ सम्म काम सकिने दाबी महानिर्देशक बोहराको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *