अभिनेता राजेश हमाल बुधबार पाकिस्तानी दूतावास पुगे। उनी त्यहाँ कुनै औपचारिक कामका लागि भने गएका थिएनन्। बरु, पाकिस्तानमा आफ्नो बुवासँग निकट सम्बन्ध राखेका पूर्वकूटनीतिज्ञसँग भेटघाट तथा स्मरण बाँड्न उनी दूतावास पुगेका हुन्।
हमालले भेटबारे जानकारी सामाजिक सञ्जालमार्फत साझा गरेका छन्। पाकिस्तानमा नेपाली राजदूतका रूपमा कार्यरत रहँदै हृदयाघातका कारण निधन भएका उनका बुवा चुडाबहादुर हमालसँग जोडिएका पाकिस्तानका पूर्वविदेशमन्त्री तथा सचिव जलिल अब्बास अब्बानीलाई भेट्न उनी दूतावास पुगेका थिए।
भेटका क्रममा उनीहरूले धेरै मार्मिक क्षण स्मरण गरेका छन्। राजदूतका रूपमा ओहदाको पत्र बुझाएर निवास फर्किँदा अब्बानी प्रोटोकलअनुसार साथमा आएका थिए। त्यही निवासमा सिँढी चढ्दै गर्दा राजदूत हमाललाई अचानक हृदयाघात भएको थियो।
अब्बानीले तत्कालै अस्पताल लैजान प्रयास गरे पनि उपचारका लागि अस्पताल पुग्नुअघि नै राजदूत हमालको निधन भएको थियो।
त्यसपछि राजदूत हमालको शव अब्बानी स्वयं नेपाल ल्याएर परिवारलाई हस्तान्तरण गरेका थिए। पछि अब्बानी विदेश सचिव हुँदै विदेशमन्त्रीसमेत बने।

हालै ‘अनलाइनखबर’सँगको अन्तर्वार्तासहित प्रकाशित आत्मकथा ‘युगदेखि युगसम्म’ मा पनि हमालले बुवासँगको सम्बन्धबारे विस्तृत चर्चा गरेका छन्। बुवाको उत्तरार्धका केही वर्ष बोलचाल रोकिएको अवस्थासमेत उनले स्मरण गरेका छन्।
अब्बानीसँगको भेटमा पाकिस्तानी राजदूत अबरार ए हाश्मी पनि उपस्थित थिए।
सो भेटका बारेमा फेसबुकमा लेख्दै हमालले भनेका छन्,
“पाकिस्तानका पूर्वपरराष्ट्रमन्त्री जलिल अब्बास जिलानीसँग भेट्दा धेरै खुशी लाग्यो। मेरा बुबाले ओहदाको पत्र बुझाउँदादेखि उहाँ बित्दासम्म श्री जिलानी साथमै हुनुहुन्थ्यो। यो अवसर प्रदान गर्नुभएकोमा पाकिस्तानका महामहिम राजदूतलाई धन्यवाद। श्री जिलानीसँगको भेटले बुबासँगको सम्बन्धमा केही राहत महसुस गरायो।”
