जेन–जी आन्दोलनले परम्परागत दलहरू रक्षात्मक भएकै बेला कुलमान घिसिङले अर्थपूर्ण सन्देश दिने गरी ‘उज्यालो नेपाल पार्टी’को औपचारिक घोषणा गरेका छन् । चिलिमे हाइड्रो पावरको नेतृत्व, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकपछि कुलमानलाई मन्त्रीको पुरस्कार मिल्यो । जेन–जी आन्दोलनको उथलपुथलपछि तीन महिना कुलमानलाई भौतिक पूवार्धार, ऊर्जा र शहरी विकास मन्त्रालयको कमाण्ड सम्हाल्ने मौका मिल्यो । उनै कुलमानले बुधबार पार्टीको औपचारिक घोषणा गरे । प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा ‘लोडसेडिङ अन्त्य’ क्रेडिट लिँदै उनले पार्टी घोषणा गरे ।
घिसिङसँगै केही नयाँ अनुहार पनि थिए । रास्वपा छोडेकी सुमना श्रेष्ठदेखि व्यवस्था परिवर्तनपिच्छे शक्तिमा स्पेश खोज्ने सुन्दरमणि दिक्षितसम्मलाई उभ्याइएको थियो । अधिकारवादी, प्राध्यापक, एनजीओकर्मी पृष्ठभूमिका गणेश योञ्जन, सरु जोशी, मुक्तसिंह लामा, खगेन्द्र सुनार, धर्म चौधरी र किशोरी कार्कीलाई अतिथि बनाउँदै घिसिङको पार्टीको औपचारिक घोषणा भएको हो । यसअघि नै ५१ सदस्यीय कार्यसमिति पनि सार्वजनिक गरेको थियो ।
बिजुली व्यवस्थापक हुँदै राजनीतिमा हाम फालेका उनै घिसिङले ४३ मिनेट बोल्ने क्रममा केही अर्थपूर्ण, केही विवादित र केही आशा जगाउने हिसाबले अभिव्यक्ति दिएका छन् । राजनीतिक परिवर्तनमा पुराना दलको योगदान दिएको भन्दै प्रशंसा पनि गरे । नेपाल पछाडि पर्नुको मुख्य दोषी नै परम्परागत दलको असफल नेतृत्व रहेको जिकिर गरे । यस क्रममा घिसिङ केही अर्थपूर्ण, केही विवादित र केही उत्साहको अभिव्यक्ति दिए ।
विदेशमा बस्नेको साथ, विदेशीकै हात
पार्टी खोल्ने निर्णयमा पुग्नु नेपालीभन्दा विदेशमा रहेकाहरू साथ र हात रहेको उनले प्रस्ट्याए । आठ वर्षदेखि उज्यालो अभियान चलाए पनि विदेश पुगेपछि पार्टी खोल्ने हुटहुटी बढेको उनको लामो भाषणको सार छ । ‘म दुई महिना विदेशतिर लागेँ । सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग भेटघाट गर्ने मौका पाएँ । यति ठूलो नेपाली दाजुभाइहरूको सद्भाव, माया, प्रेम देखियो । म त वास्तवमा विदेशमा आठ वर्षसम्म घुम्न पनि पाएको थिइनँ,’ कुलमानले भनेका छन्, ‘विगतको सरकारले जुन बेला मलाई निकाल्यो, त्यसपछि मलाई एकदमै ठूलो अवसर प्राप्त भयो– विदेशमा घुम्ने, सबैसँग भेटघाट गर्ने अवसर प्राप्त भयो । त्यसपछि मैले बुझेँ– नेपाल बाहिर रहेछ । नेपाल विदेशमा रहेछ । नेपालीहरू विदेशमा रहेछ ।’
२०७९ को चुनावमा काठमाडाैंका मेयर बालेन शाहले विदेशमा बस्ने नेपालीको अपिलमा जितेको फर्मुला कुलमानले दोहोर्याउन खोजेका छन् । ‘कति माया गर्दो रहेछ नेपालीहरूले ! विदेशमा रहेका नेपालीहरूले नेपालमा कति माया गर्दो रहेछ भन्ने मैले त्यसपछि बुझेँ । यो उज्यालो नेपाल अभियानमा उहाँहरूले ठूलो साथ सहयोग दिनुभएको छ,’ उनले भनेका छन, ‘यो साथ वास्तवमा एउटा व्यक्तिको लागि होइन, एउटा व्यक्ति अगाडि बढेर होइन’, उनले भनेका छन्, ‘देश उज्यालो हुनुपर्छ भन्ने सबैको चाहनाले त्यो साथ सहयोग प्राप्त भएको मलाई लाग्छ ।’
उज्यालो नेपालको अभियान सुरु गर्ने भन्दै उनले पूर्वसचिव अनुपकुमार उपाध्यायको नाम लिन छुटाएनन् ।
सरकारबाटै उचाइ, प्रधानमन्त्रीको सपना
कुलमानले चिलिमे हाइड्रोबाट आफूलाई हटाएदेखि नै आफ्नो सकारात्मक छविको युग सुरु भएको बताए । त्यसैको जगमा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक, मन्त्रीसम्म बनेको बताए । यसैको जगमा देशकै लीड गर्नुपर्छ भन्ने महत्वाकांक्षा पनि उनले नलुकाई खुलाए ।
‘चिलिमे हाइड्रोपावर कम्पनीमा ठूलो क्राइसिस थियो, म गएँ । मैले त्यहाँको क्राइसिसलाई समाधान गरेर एउटा रसुवाली जनता, नेपाली जनतालाई हाइड्रोपावरको शेयर दिनुपर्छ, रसुवाली जनता– स्थानीय जनतालाई विकास निर्माणमा संलग्न गर्नुपर्छ, इन्क्लुसिभ ग्रोथ भनेको त्यही हो, नमुना त्यही हो भनेर त्यहाँका स्थानीय जनताकेन्द्रित भएर काम गरेँ । त्यहाँबाट पनि मलाई निकालियो’, कुलमानले भने ।
‘चिलिमे हाइड्रोपावरबाट मलाइ निकालेपछि एक महिनाको आन्दोलन भयो । त्यसले मलाई विद्युत् प्राधिकरणको कार्यकारी भूमिकामा पुर्यायो । त्यहाँ लोडसेडिङ अन्त्य गर्ने मौका पाएँ । करिब सात–आठ महिना सरकार र कुलमान घिसिङको ठूलो झगडा पर्यो,’ त्यतिखेरको नोकझोँकबारे कुलमानले भनेका छन्, ‘चार महिना बाँकी हुँदा म बाहिरिनुपर्यो, मलाई निकालियो । मैले त्यही बेला उहाँहरूलाई, सरकारलाई धन्यवाद दिएको थिएँ ।’
त्यसैको जगमा आफूले प्रधानमन्त्री बन्ने सपना देख्न थालेको पनि उनले खुलाए । ‘त्यसबाट मलाई अहिले मन्त्रीको रूपमा स्थापित गरायो । यो पनि मलाई अपर्चुनिटी नै भयो । अब यहाँबाट हिँडेपछि कता जाने होला भन्ने तपाईंहरूलाई लागेको होला,’ उनले भनेका छन्, ‘अब देशकै लिड गर्नुपर्छ जस्तो लागिराछ ।’
यो कालखण्डमा ७५ वर्ष गुज्रिने र राजनीतिक परिवर्तनमा नेताहरू सफल भएकोमा उनले प्रशंसा पनि गरे । ७५ वर्षमा नेपालमा ७५ गुणामात्रै जीडीपी वृद्धि हुँदा चीन र भारतले ३०० देखि ३५० गुणा वृद्धि गरेको दाबी गरे । सही लिडरसिपको अभावमा देशले समृद्धि हासिल गर्न नसकेको उनको तर्क थियो । यसैले आफूले आर्थिक क्रान्ति गर्दै देशकै नेतृत्वको सपना देखेको प्रस्ट्याए ।
‘लिडरसिप एकदमै महत्त्वपूर्ण विषय हो । यदि लिडरसिप राम्रो भयो भने हरेक चिज बन्छ,’ उनले भनेका छन्, ‘एभ्रिथिङ राइज एण्ड फल्स अन लिडरसिप भन्छन् । लिडरसिप नै महत्त्वपूर्ण रहेछ । त्यो लिडरसिपले यदि देश बनाउने आँट गर्यो भने देश बन्दो रहेछ ।’
उत्साही भएर लक्जेम्बर्गको उदाहरण दिँदै कुलमानले निरकुंश शैलीको सार पनि सुनाए । ‘लग्जेम्बर्गमा गएको थिएँ । मैले त्यो उदाहरण दिने गरेको छु । त्यहाँ दुईपटक मात्रै प्रधानमन्त्री हुन पाउने संविधान रहेछ । आठ वर्ष प्रधानमन्त्री चलायो, यति राम्रो काम गर्नुभयो, लग्जेम्बर्गमा ठूलो परिवर्तन, आर्थिक क्रान्ति गर्नुभयो । जनताले त्यो संविधान नै फेरेर ’तपाईं नै बस्नुपर्छ’ भनेर अनलिमिटेड, जति बस्न मन लाग्छ त्यति बस्नु भनेर जनताले नै संविधान फेरेर उहाँलाई राख्नु भयो,’ उनले भने, ‘२० वर्षपछि स्वेच्छाले छोडेर जानुभयो उहाँ । र आज लग्जेम्बर्गको पर क्यापिटा इन्कम संसारकै सबभन्दा बढी करिब ५७ हजार डलरको छ ।’ समृद्धिको सपना देखे पूरा गर्न सकिने उनको आशय थियो ।
चुनौती स्वीकार्न आएको दाबी
विकास निर्माण, समृद्धिको एजेन्डा र डेलिभरी नै जनताको अपेक्षा रहेको उनले बताए । ‘भाषणले होइन कामले गर्नुपर्छ । डेलिभरी दिनुपर्छ । डेलिभरी बहुत महत्त्वपूर्ण हो । सबभन्दा ठूलो कुरा परिणाममुखी राजनीति गर्नुपर्यो, परिणाम आउनुपर्यो’, उनले भनेका छन् । जेन–जीको विद्रोहपछि चुनौती स्वीकार गर्न आफू अगाडि बढेको उनको भनाइ छ ।
यो उज्यालो पार्टी मात्र होइन, धेरै पार्टी जन्मेको होला,’ उनले भनेका छन्, ‘अब परिवर्तनको नेतृत्व नयाँ र विकल्प दिन सक्ने व्यक्तित्वहरू, संस्थाहरू र पार्टीहरूले गर्नुपर्छ ।
‘एउटा ठूलो विद्रोहपछि एउटा भ्याकुम थियो, त्यो अवस्थामा जानुपर्छ, जिम्मेवारी लिनुपर्छ, यो च्यालेन्जलाई स्वीकार गर्नुपर्छ, क्राइसिसलाई स्वीकार गर्नुपर्छ भनेर आएको हो,’ उनले भनेका छन्, ‘जेन–जीको दुई दिनको आन्दोलनले सरकार उलटपुलट भयो । किन भयो? यो दुई दिनको आन्दोलन त्यत्तिकै आएको होइन । यो लामो समयको फस्ट्रेसन, निराशा, लामो समयको आक्रोश जुन जम्मा भएर बसेको थियो, एकैचोटि विस्फोटन भएको थियो । त्यो विस्फोटनले एउटा ठूलो परिवर्तन ल्यायो ।’ यसैको बलमा देशलाई निकास दिन लागेको उनको भनाइ छ । भ्रष्टाचारमुक्त समृद्धियुक्त देश नै जेन–जी आन्दोलनको मर्म भएको उनले बताए ।
नयाँहरूलाई मिल्न अपिल
पुरानासँग आशा र अपेक्षा नभएकोले नयाँहरू वैकल्पिक बन्न खोजेको उनको भनाइ छ । ‘अब फागुन २१ को चुनाव त हुन्छ, चुनावपछि के हुन्छ ? कस्तो सरकार आउँछ त ? भन्ने तपाईंहरूको प्रश्न गम्भीर प्रश्न छ । त्यही भएर तपाईंहरूको यो उज्यालो पार्टी जन्मेको होला । यो उज्यालो पार्टी मात्र होइन, धेरै पार्टी जन्मेको होला,’ उनले भनेका छन्, ‘अब परिवर्तनको नेतृत्व नयाँ र विकल्प दिन सक्ने व्यक्तित्वहरू, संस्थाहरू र पार्टीहरूले गर्नुपर्छ । र यसको लागि आम जनसमुदायको इच्छा, आकांक्षाबमोजिम सब आपसमा एकताबद्ध भएर लाग्नुपर्छ भन्ने मेरो सधैँ यही भनाइ रहेको छ । अब सबै नयाँ र विकल्प, वैकल्पिक भन्ने साथीहरू सबै एक ठाउँमा आएर जस्तोसुकै परिस्थितिमा पनि एकताबद्ध भएर यो परिवर्तनलाई अब परिणाममा परिवर्तन दिनुपर्ने छ ।’
एक्लैले बल गरेर नहुने भन्दै उनले नभाग्न तर साथ दिन अपिल गरे । पार्टीको औपचारिक घोषणा गर्नुअघि कुलमानले बालेनसँगको फोटो सामाजिक सञ्जालमा शेयर गरेका थिए । तर उनी खुलेर राजनीतिमा नआउने संकेत गरेका छन् । यसैले कुलमानले बालेन र रास्वपालाई घुर्क्याउने शैलीमा एक्लै गरेर नहुने भन्दै नभाग्न भाषणमार्फत दबाब दिए ।
महत्वकांक्षी योजनाका फेहरिस्त
अबको १५/२० वर्षमा नेपालले बिजुली निर्यातबाट ४०/४५ खर्बको बिजुली निर्यात गरेर देशलाई कायापलट गर्ने हिसाब उनले सुनाए । ‘अहिले नै २०/२५ अर्बको बिजुली निर्यात गरेका छौँ । १५/२० वर्षमा ५० हजार मेगावाट बिजुली बिक्री गर्दा ४०/४५ खर्बको बिजुली निर्यात गर्न सक्छौँ,’ उनले भने, ‘यो भनेका आजको नेपालको जीडीपी बराबर हो ।’ बिजुलीको उत्पादन बढेपछि गाउँ गाउँ उज्यालो भएको, बत्ती पुगेको, इभीको प्रयोग बढेको, इन्डक्सन कुकिङ बढेको उनले बताए । बिजुली उत्पादन बढ्दा डिजेल, पेट्रोल, ग्यासको कम प्रयोगले व्यापार घाटा कम हुने बताए ।
ऊर्जाबाट खर्बौं कमाएपछि शिक्षा, बिजुली नि:शुल्क गर्ने महत्वाकांक्षी योजना उनले सुनाए । यस्तो पुँजीले हाइड्रो, टनेल, रोड, ट्रेन जस्ता ठूला आयोजना पूरा गर्न सकिने सपना देखाए । धार्मिक र अन्य टुरिजम बिक्री गर्दा नेपाल बन्न समय नलाग्ने बताए । ह्युम्यान क्यापिटल नेपालको अर्को ठूलो पुँजी भएको उनको भनाइ छ । यसलाई कृषिमा जोड्न उनले अपिल गरे ।
सम्पत्ति फालेको कुरा
ढुंगा, माटो, वन जंगल सबैमा पैसा भए पनि नेपालले सबै फालिरहेको उनको भनाइ छ । ‘वन कुहाएर राख्नुपर्छ, सिनोले खानुपर्छ । निकुञ्जको हाम्रो वन कति छ भने ४५ प्रतिशत वन छ । त्यो कमर्सियल युजमा कहिले पनि आएन । चितवनको जंगलमा भएको वनको रुख एउटा पनि बाहिर आउँदैन । किन ?,’ प्रश्न गर्दै उनले भने, ‘मलेसिया र चाइना, बाहिर देशबाट ३–४ खर्बको काठका सामानहरू इम्पोर्ट गर्छौं । आफ्नो कुहाउने, इम्पोर्ट गर्ने ? यो गलत भयो ।’
यो पनि डिसिजन गर्न गाह्रो, त्यो पनि डिसिजन गर्न गाह्रो, यो ऐनले समात्छ, त्यसले समात्छ,’ उनले भनेका छन्, ‘अनि कसरी विकास गर्ने ?
वनको काठ काटौँ भन्दा आफू ट्रोलको शिकार भएको गुनासोसमेत उनले गरे । भुटान ढुंगामाटो बेचेर धनी भएको उदाहरण दिँदै उनले नेपालमा खनिखोस्री गर्न निषेध भएको बताए । ‘तपाईं फुलबारीमा जानुस्, मैले ४००–५०० गाडी हरेक दिन जान्छ । त्यहाँ भुटानबाट ढुंगा र माटो लिएर बंगलादेश जान्छ । हामी चाहिँ ढुंगा र माटो के गर्छौं भने– होइन यहाँ खन्नै हुँदैन । यो पनि खन्नु हुँदैन, त्यहाँ पनि खन्नु हुँदैन भन्छन्,’ उनले भने, ‘हामी त्यो पैसा केही राख्दैनौँ, छोड्दिन्छौँ। अनि के गर्छौं भने त्यो चुरेबाट निस्केको खोलाहरू, त्यो ढुंगा माटो थप्दाथप्दा माथिमाथि आउँदो रहेछ, यता अर्को बाढी आउँदा सबै खेत पनि बगाउने, गाउँ पनि बगाउने भइरहको छ ।’ भारतले बनाइरहेको एसियन हाइवेको लागि नै ढुंगा माटो बेच्न सकिने उनको भनाइ छ ।
कानुन खारेजका कुरा
अहिले कानुन विकासमा बाधक भएकोले खारेज गर्नुपर्ने उनको तर्क छ । ‘यो ऐन कानुन सबलाई चाहिँ खारेज गरेर जानुपर्छ । विकास हुँदैन । विकास हुँदैन, यस्ता ऐन कानुन राखेर नेपालमा विकास हुँदैन । म मन्त्री भएको साढे दुई महिना भइसक्यो, ६ महिनाअगाडि मैले यो गर्नुपर्छ भन्ने काम मन्त्री भएर पनि गर्न सक्या छैन । यो ऐन देखाउँछन्, कता ऐन देखाउँछन्, के भन्छन्, कामै हुँदैन,’ उनले भने, ‘अनि कसरी हुन्छ ? त्यसैले छाता ऐन ल्याउनुपर्छ, एउटै ऐनले सबलाई सखाप पारेर काम गर्नुपर्छ ।’
सँगै उनले अर्को विवादित अभिव्यक्ति पनि दिए । कतै साइन गर्यो कि अख्तियारले लखेट्ने उनको भनाइ छ । ‘अब हाम्रो ब्युरोक्रेसीमा, यो अलिकति साइन गर्यो भने त मलाई त अख्तियारले बोलाई हाल्छ नि भन्नुहुन्छ । अब यो सानो बजेट, १६–१७ खर्बको बजेटमा ३ खर्ब रुपैयाँ पुँजीगत खर्च हुन्छ, त्यो पनि खर्च गर्न सक्दैन । यो पनि डिसिजन गर्न गाह्रो, त्यो पनि डिसिजन गर्न गाह्रो, यो ऐनले समात्छ, त्यसले समात्छ,’ उनले भनेका छन्, ‘अनि कसरी विकास गर्ने ? यस्तो परिस्थितिबाट देश विकास हुँदैन । सोचमा परिवर्तन गर्नुपर्यो । सबैले यो अहिलेको कार्यान्वयन पक्षलाई एकदम जोड दिएर अगाडि बढ्ने हो भने धेरै परिवर्तन हुन्छ ।’
मन्त्री भएर मात्रै होइन संसदमै गएर मात्रै यस्ता कुरा परिवर्तन गर्न सकिने भएकोले राजनीतिमा आएको उनले सुनाए । ‘मन्त्रीले त ऐन परिवर्तन गर्न नसक्दो रहेछ । त्यो ऐन परिवर्तन गर्नलाई त संसद जानुपर्ने रहेछ । अझ संसद छैन । त्यो संसदमा जाँदा त्यो ऐन एउटा बनाउनलाई दुई वर्ष तीन वर्ष लाग्दो रहेछ,’ छेउमै रहेकी सुमनालाई देखाउँदै उनले भने, ‘शिक्षाको ऐनलाई देख्नुभाछ ? उहाँले सम्पन्न गर्न कत्तिको भ्याउनुभयो थाहा छैन । अनि तीन वर्ष ऐन परिवर्तन गर्न लाग्ने ! अनि त्यसपछि एउटा रुख काट्न पर्यो भने त्यो पन्छाउने भन्छ नि, पर्साउने, पर्साई पर्साई पर्साई ५ वर्ष पर्साएपछि त्यसपछि रुख काट्नै पर्छ फेरि, काटिन्छ । ५ वर्षपछि त्यो रुख काटिन्छ ।’ यस्तै अभ्यासले विकास निर्माण अलपत्र परेको भन्दै उनले आफू आएपछि २ सय ५० वटा ठेक्का तोडिएको बताए ।
