एमालेले चुनावका सबै गतिविधि सक्रियतापूर्वक अघि बढाइरहेपनि सरकार आफैं चाहिँ चुनावका लागि कति कन्फिडेन्ट छ भन्ने मनस्थिति बुझ्न पनि ओली बिहीबार बालुवाटार पुगेको निकटस्थहरूको बुझाई छ । उनले प्रधानमन्त्री पति दुर्गा सुवेदीको स्वास्थ्य मात्र बुझेनन्, प्रधानमन्त्रीको चुनावी दृढताको नाडी पनि छामे ।

२४ पुस, काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता बहिर्गमनमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरुवाती दिनमा प्रधानमन्त्री सुशीला कार्कीप्रति निकै आलोचनात्मक अभिव्यक्ति दिँदै आएका थिए । प्रधानमन्त्री सुशीला कार्की पनि ओलीप्रति चर्को धारणा राख्थिन् । त्यसैले उनले ओली लगायतका शीर्ष नेतालाई भेट्न सुरुमा चासो दिइनन् ।

तर, केही साता यता चुनाव र राजनीतिक घटनाक्रमका विषयमा प्रधानमन्त्री कार्की र ओलीबीच संवाद सहज हुन थालेको छ । त्यसैको पछिल्लो कडि थियो- बिहीबार बालुवाटारमा भएको प्रधानमन्त्री कार्की र पूर्वप्रधानमन्त्री ओलीबीचको शान्त, एकान्त वार्ता ।

बिहीबार बिहान करिब ११ बजेतिर एमाले अध्यक्ष ओली दलका कुनै नेताहरू नलिई बालुवाटार पुगेका थिए । साथमा उनका स्वकीय सचिव राजेश बज्राचार्य मात्रै थिए ।

प्रधानमन्त्री कार्कीले पनि नेताहरूसँग भेटवार्ता गर्ने सन्देश प्रवाह गरेकी थिइन् । तर प्रधानमन्त्री कार्कीका श्रीमान् दुर्गा सुवेदी यो बीचमा विरामी परे । उनको दिल्लीमा उपचार भइरहेको छ । यो खबर थाहा पाएका ओली सुवेदीको स्वास्थ्य अवस्था पनि बुझ्ने र प्रधानमन्त्रीसँग कुराकानी पनि गर्ने मेसो मिलाएर बालुवाटार पुगेका हुन् ।

ओलीले बालुवाटारमा सुवेदीको अवस्थाबारे चासो प्रकट गरे । केहीबेर पारिवारिक छलफल भएपछि उनीहरुबीच एक्लाएक्लै करिब तीन घण्टा कुराकानी भयो । यो कुराकानीमा प्रधानमन्त्री कार्कीले चुनाव हुने दिशामा सबै काम भइरहेको र यसमा दलहरुले अझै सघन सहयोग आवश्यक रहेको पुरानै कुरा आग्रह गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *