सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि संघीय सरकारले तयारी नै सुरु नगरेकोप्रति असन्तुष्टि जनाएका छन् ।

मंगलबार मुख्यमन्त्री कार्यालयमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधव चौलागाईसहितको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा उनले पटक–पटक प्रतियोगिताको मिति मात्र तोकेर नहुने भन्दै आफनो तर्फबाट तयारी गर्न सुझाव दिए ।

मुख्यमन्त्री कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्न प्रदेश सरकार तयार रहेको र प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रष्ट पारे । पछिल्लोपटक सुशिला कार्की नेतृत्वको सरकारले यही फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोक्ने निर्णय गरेको थियो । यो प्रतियोगिताको मुख्य आयोजक संघीय सरकार मातहतको राष्ट्रिय खेलकुद परिषद् रहने व्यवस्था छ ।

मुख्यमन्त्री कँडेलले पटक पटक मिति तोकेर जनतालाई झुक्याउने काम नगर्न आग्रह गरे । ‘हाम्रो प्रदेशमा तपाइँहरु खेलकुद खेलाउने गरि आउनुस, हाम्रो हाम्रो तर्फबाट पूर्ण सहयोग रहन्छ, तर पटक पटक मिति तोकेर जनतालाई झुक्याउने काम नगर्नुस,’ उनले प्रश्न गरे, ‘फागुन पाँच गतेदेखि निर्वाचत आचारसंहिता लाग्दैछ, तपाइँहरुले खरिद प्रक्रिया सुरु नै गर्नुभएको छैन्, यस्तो तरिकाले प्रतियोगिता कसरी तोकिएको मितिमा गर्न सक्नुहुन्छ ? खरिद प्रक्रिया, तालिम प्रशिक्षण लगायतका पूर्व तयारीका काम अहिलेसम्म किन गर्न सक्नुभएन ।’ मुख्यमन्त्री कँडेलले प्रदेश सरकारका कारण खेलकुद प्रतियोगिताको तयारी र सञ्चालनमा कुनै समस्या नहुने प्रष्ट पारे ।

भेटमा संघीय युवा तथा खेलकुदमन्त्री गुप्ताले प्रतियोगिता सञ्चालन पूर्वका आवश्यक खरिदको प्रक्रिया अघि बढाउन लागिएको दाबी गरे । अर्का मन्त्री चौलागाईले कर्णालीमा राष्ट्रिय प्रतियोगिता गर्नु गौरवको विषय भन्दै संघ र प्रदेश सरकारको उचित समन्वयका आधारमा अघि बढ्नुपर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *