१ माघ, काठमाडौं । नेता विश्वप्रकाश शर्माले कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषय चर्किरहँदा भनेका थिए- ‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन । विभाजनको अवस्था आए आफू सबैभन्दा पहिला अधिवेशन हलबाट बाहिरिन्छु।’

बुधबारदेखि कांग्रेस विभाजन पनि भइसकेको छ । शर्मा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसको उपसभापति चयन भएका छन् ।

पार्टीको नयाँ नेतृत्व चयन भएको र विवरण अध्यावधिक गर्न भन्दै थापा, शर्मासहितका नवनिर्वाचित पदाधिकारी बिहीबार निर्वाचन आयोग पुग्यो । आयोगमा विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको जानकारी गराएर बाहिरिनेक्रममा शर्माले एउटा प्रश्नको सामना गरे ।

पत्रकारले सोधे- पार्टी विभाजन भए सबैभन्दा पहिले हलबाट बाहिरिन्छु भन्नुहुन्थ्यो नि ?

उक्त प्रश्नको जवाफ दिनेक्रममा शर्माले पार्टी कहाँ विभाजन भएको छ भन्दै प्रतिप्रश्न गरे । उनले सोधे-‘कहाँ विभाजन भयो त पार्टी ?’  उनले पार्टी विभाजन नभएको र एकढिक्का भएर निर्वाचनको तयारीमा लाग्ने पनि बताए ।

शर्माले पार्टीको नीति, नेतृत्वको समग्र अध्यावधिक भएको जानकारी बताउँदै भने, ‘लिखित, मौखिक रुपमा आज जानकारी गरायौँ । निर्वाचन आयोगले छिट्टै अध्यावधिक गरेर जानकारी दिने विश्वास गरेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *