झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र दाहाल र सहसंयोजक दीपक कार्की र मेनुका काफ्लेलाई तोकिएको छ।
गौरादहमा आज बसेको निर्वाचन क्षेत्र नं ५ समन्वय कमिटीको बैठकले ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको केन्द्रीय सदस्य दीपक कार्कीले जानकारी दिए। कार्कीका अनुसार परिचालन कमिटी मातहत रहने गरी ९ वटा उपसमिति गठन गरिएको छ ।
कमिटीमा निर्वाचन क्षेत्रमा घर भएका केन्द्रीय कमिटी सदस्य,केन्द्रीय आयोग, केन्द्रीय विभाग (वर्तमान र निवर्तमान) हरूलाई जिम्मेवारी दिएको छ ।
कमिटीमा प्रदेश कमिटी सदस्य,प्रदेश लेखा कमिटी, विभाग र सल्लाहकारहरूलाई पनि परिचालन कमिटीमा समेटिएको छ । यसै गरी जिल्ला कमिटीका पदाधिकारी, विभागीय सदस्य,सल्लाहकार परिषदका सदस्यहरू पनि निर्वाचन परिचालन कमिटीमा छन् ।
यसै गरी स्थानीय र प्रदेशका निर्वाचित जनप्रतिनिधि पनि कमिटीमा रहेका छन् । यसै गरी जनसंगठनका केन्द्रीय, प्रदेशका पालिका कमिटीका पदाधिकारी र सदस्य पनि परिचालन कमिटीमा रहेका छन् ।
निर्वाचन परिचालनका लागि ६९ सदस्यीय सचिवालय गठन गरिएको छ । गौतमका अनुसार वडा तथा टोलसम्मका प्रचार समिति आगामी माघ १२ गतेसम्ममा गठन गरिसक्ने निर्णय गरिएको छ ।
परिचालन कमिटी अन्तरगत रहने गरी गठन गरिएका ९ वटा उपसमिति मध्ये कार्यालय सञ्चालन उपसमितिको संयोजक नारायण गौतम, प्रचार प्रसार सामग्री व्यवस्थापन उपसमिति होमबहादुर थापा, प्रचार प्रसार उपसमितिको संयोजकमा दीपक कार्की रहेका छन्।
आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा रोमनाथ ओली,स्वयंसेवक परिचालन उपसमितिको संयोजक गोविन्द थापा, प्रशासन समन्वय उपसमितिको संयोजक देवेन्द्र दाहाल छन्। यसै गरी सञ्चार क्षेत्र बाहिर रहेका मतदाता समन्वय उपसमितिको संयोजकमा इन्द्रप्रसाद भण्डारी, कानुनी परामर्श उपसमितिको संयोजक नारायण भट्टराई रहेका छन्।
