विराटनगर । राष्ट्रियसभाको निर्वाचनमा कोशीमा कांग्रेस-एमाले गठबन्धनको मत नेकपाका उम्मेदवारलाई क्रस भएको खुलेको छ । मत परिणाम विश्लेषण गर्दा क्रस भोट परेको देखिएको हो ।
नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार नमिता न्यौपानेलाई पालिकातर्फको २२ मत क्रस भएको छ । उनलाई एमाले र कांग्रेसका पालिका प्रमुख उपप्रमुखले नै मत हालेका छन् । यस्तै प्रदेशसभाका ४ जना प्रदेशसभा सदस्यले पनि उनलाई मत हालेका छन् ।
दलित तर्फका नेकपाका उम्मेदवार खेमराज सुन्दासलाई पनि पालिका तर्फको २१ मत क्रस भएको छ । उनलाई प्रदेशसभा तर्फ भने नेकपाको भन्दा १ जनाले मत हालेको देखिन्छ ।
कोशी प्रदेशका १३७ स्थानीय तहहरूमध्ये नेपाली कांग्रेसका ११३, एमालेका १०८ जना प्रमुख उपप्रमुख रहेका छन् । यस्तै प्रदेशसभामा एमालेका ४० र नेपाली कांग्रेसका २९ जना सांसद छन् छन् ।
नेपाली कम्युनिस्ट पार्टीका ३६ जना प्रमुख-उपप्रमुख छन् । पालिकाका ३६ जना प्रमुख उपप्रमुख रहेकोमा नमितालाई ५८ जनाले मत हालेका छन् । यस्तै सुन्दासलाई ५७ जनाले मत हालेका छन् । यो मत नेकपाको भन्दा २२ र २१ बढी हो ।
पालिकाबाट राजीनामा दिएर नेकपाका एकजना पालिका प्रमुख प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । यस्तै एकजना नेकपाका मतदाता ढिलो आएका कारण मत हाल्न पाइनन् ।
जसपा नेपाल र राप्रपाका ४-४ र स्वतन्त्र २ जनाले भोट हालेनन् । नेकपाका १७ जनामध्ये प्रदेशसभामा सुन्दासलाई एक मत बढी आयो । यस्तै नमितालाई ५ मत बढी आएको छ । प्रदेशसभामा राप्रपाका ५ र जसपाका १ सांसद छन् । राप्रपाका जनाले बहिष्कार गरेका छन् । सभामुखले भने मत हाले ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका राप्रपाका प्रदेशसभा सदस्य भक्ति सिटौला, नेकपाका सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असीम राई, उदयपुरको लिम्बचुङबुङ गाउँपालिका अध्यक्ष मेजर राई, इलामको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, एमाले रंगेलीका प्रमुख दिलीप बगडिया, ओखलढुङ्गाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा, श्रम संस्कृति पार्टीका सुनसरी धरानका प्रमुख हर्क साम्पाङ र भ्रष्टाचार मुद्दामा निलम्बित नेपाली कांग्रेसका झापा गाउँपालिका अध्यक्ष जयनारायण साहको नाम मतदाता सूचीबाट हटाइएको छ ।
