काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगेन्द्र सुनार आफ्नो एक पुरानो अभिव्यक्तिले गम्भीर विवादमा तानिएका छन् । एक अन्तर्वार्तामा उनले ‘नेपालमा गाई खान पाउनुपर्ने’ दलील गरेको भिडिओ क्लीप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

दलित अभियानबाट चर्चामा आएका सुनार पहिल्यैदेखि अराजक गतिविधि र उत्तेजक अभिव्यक्तिहरुले गर्दा विवादमा पर्ने गर्थे । उनको पृष्ठभूमि राम्ररी नकेलाइकन पार्टीको नेतृत्वमा पुर्‍याउँदा रास्वपालाई समेत अप्ठेरो परेको छ । मतदाताहरुले सुनारको अभिव्यक्तिबारे रास्वपा उम्मेदवारहरुलाई समेत प्रश्न गर्न थालेका छन् ।

रास्वपाले अहिलेसम्म कुनै पनि आधिकारिक प्रतिक्रिया दिएको छैन । ससाना घटनाक्रमहरूमा पनि टिप्पणी गरिहाल्ने नेताहरू पूर्णरूपमा मौन छन् । आ-आफ्नो चुनावी व्यस्तताले पनि हुनुपर्छ । यद्यपि, यति विवाद आइसकेपछि पार्टीको तर्फबाट कुनै न कुनै प्रष्टीकरण आउनुपर्ने हो ।

हामीले यो विषयमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झासँग बुझ्न खोज्यौं । बुर्लाकोटीले आफू अहिले चुनावी क्षेत्रमा व्यस्त रहेकाले राम्ररी बुझ्न नपाएको बताए । यद्यपि, सामाजिक सञ्जालमा आइरहेको भिडिओ क्लीपबारे जानकार रहेको उनले बताए ।

बुर्लाकोटीले भने, ‘मैले पनि भिडिओ हेरेँ । पुरानो अन्तर्वार्ता जस्तो लागेको छ । पहिले उहाँले दलितमुक्ति आन्दोलनका क्रममा शरीरमा सिक्री बाँध्नेलगायतका विभिन्न आन्दोलनहरू गर्नुभएको थियो । मलाई लाग्छ, त्यसबेला आक्रोशमा बोल्नुभएको हो । यही धारणा नै उहाँले अहिले बोक्नुहुन्छ भन्ने विश्वास छैन ।’

उनले यो विषयमा आफूले तत्कालै सुनारसँग सोध्ने बताए ।

प्रवक्ता मनिष झाले सुनारको भिडिओ क्लीप पुरानो रहेको बताए । आफूले सुनारसँग भर्खरै कुरा गरेको र यो विषयमा उनले एउटा भिडिओ जारी गरेर प्रष्टीकरण दिएको उनले दाबी गरे ।

‘मैले भर्खरै कुरा गरेको थिएँ । उहाँले यो निकै पुरानो भिडिओ भएकाले अहिले भाइरल बनाउनुको कुनै अर्थ नरहेको बताउनुभएको छ । उहाँ आफैँले भिडिओमार्फत प्रष्टीकरण दिइसकेको भन्नुभएको छ । त्यसैले पार्टीले केही बोलिराख्नु परेन’, उनले भने ।

पुरानो अभिव्यक्ति भए पनि उहाँको दृष्टिकोण त यही नै होला नि ? भन्ने प्रश्नमा झाले त्यो विचारमा अहिले नरेहेको आफूले बुझेको उल्लेख गरे ।

सुनारले आज आफ्नो अभिव्यक्तिबारे सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै प्रष्टीकरण दिएका छन् । आफूले बोल्दै नबोलेको कुरालाई प्रविधिको प्रयोगमार्फत तोडमोड गरेर, छेउटुप्पा छोडेर भाइरल गरिएको उनको दाबी छ ।

‘राष्ट्रिय जनावरप्रतिको हाम्रो सम्मान छ, किनकी हामी पनि यो देशको नागरिक हो’, उनले भनेका छन् ।

आफू शाकाहारी भएकाले कुनै पनि जीवहत्याको पक्षमा नरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *