काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउनासाथ कांग्रेस उम्मेदवारहरू आ-आफ्नो निर्वाचन क्षेत्रमा सक्रियतापूर्वक खटिएका छन् । सभापति गगन कुमार थापाको चुनावी अभियान सर्लाही ४ मा जारी छ भने महामन्त्री गुरुराज घिमिरे मोरङ ४ र प्रदीप पौडेल काठमाडौं ५ मा व्यस्त छ ।

चुनावमा उम्मेदवार बनेका कांग्रेस पदाधिकारीहरू पनि आ-आफ्नै क्षेत्रमा व्यस्त छन् । सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर बारा ३, उदयशमशेर राणा ललितपुर १, प्रकाश स्नेही रसाइली बझाङ, कर्णबहादुर बुढा डोल्पा र योगेन्द्र चौधरी दाङ १ मा चुनावी अभियानमा सक्रिय छन् ।

उम्मेदवार बनेका नेताहरू त धमाधम आफ्नो क्षेत्रमा प्रभाव, भेला र घरदैलोमा व्यस्त छन् । तर चुनाव नलडेका कांग्रेस नेताहरू के गर्दैछन् ? कांग्रेसमा चुनाव लड्ने नेताको सक्रियतासँगै जितका लागि चुनाव नलड्ने नेताको भूमिका पनि उत्तिकै निर्णायक मानिन्छ ।

कांग्रेसले प्रत्यक्षतर्फ १ सय ६५ मध्ये १ सय ६ जना नयाँ उम्मेदवार उठाएको छ । यही कारण चुनावको पुरानो अनुभव भएका अधिकांश नेताहरू अहिले उम्मेदवार छैनन् । २०४८ सालयताका सबै निर्वाचनमा डडेल्धुराबाट निर्वाचित हुँदै आएका शेरबहादुर देउवा यसपटक उम्मेदवार छैनन् । माघ ५ गते मध्यरातमा देउवाको सचिवालयले सामाजिक सञ्जालमार्फत उनी उम्मेदवार नबन्ने अवगत गराएको थियो । कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित समिति पनि देउवालाई उम्मेदवार बनाउन उदार थिएन । त्यसैले आसन्न निर्वाचनमा देउवाको भूमिका कस्तो रहला भन्ने चासो कांग्रेसवृत्तमा अझै देखिन्छ । देउवाले सार्वजनिक रूपमा आह्वान गरेर रुखमा मत मागिदिँदा सुदूरपश्चिमका अधिकांश जिल्लामा लाभ हुने आँकलन कांग्रेसको छ ।

यस पटक कांग्रेसको उम्मेदवार चयनमा देउवाको कुनै भूमिका रहेन । यद्यपि देउवालाई भेटेर आशीर्वाद लिन अधिकांश उम्मेदवारहरू इच्छुक थिए । तीमध्ये केहीले मात्रै देउवालाई भेट्ने मौका पाएका छन् । देउवाले निकटस्थहरूको भेटलाई नियमित राखेका छन् तर सबै उम्मेदवारले भेट्न पाएका छैनन् ।

सबैजसो उम्मेदवारले निर्वाचन प्रचारको अन्तिम दिनसम्म देउवाको सन्देश भए पनि सार्वजनिक हुने अपेक्षा राखेका छन् । ‘शेरबहादुर दाइ सकेसम्म भौतिक रूपमै उभिनुपर्छ । नभए पनि उहाँले अपिल जारी गरिदिनुपर्छ । त्यसले सुदूरपश्चिममा कांग्रेसलाई जिताउन मद्दत गर्छ’, कांग्रेसका एक उम्मेदवारको भनाई छ ।

निर्वाचन नलड्ने अर्का नेता हुन्, पूर्णबहादुर खड्का । विशेष महाधिवेशनको वैधानिकतालाई कानुनी चुनौती दिँदै रिट दायर गरेका खड्काले आफू नैतिक कारणले कांग्रेस उम्मेदवार नबनेको बताउँदै आएका छन् । आफू उम्मेदवार नबने पनि रुख चिन्हवाहक सबै उम्मेदवारलाई सघाउने उनले प्रष्ट पारिसकेका छन् । सार्वजनिक कार्यक्रमहरूमा नदेखिए पनि सम्पर्कमा आएका उम्मेदवार भेट्ने र उचित सहयोग गर्ने काम खड्काले जारी राखेका छन् ।

पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र डा. शशांक कोइराला पनि यस पटक उम्मेदवारको रूपमा मैदानमा छैनन् । काठमाडौं १ मा प्रकाशमान र नवलपुर १ मा शशांकले पछिल्ला चारवटा चुनाव लगातार जितिरहेका थिए । यस पटक कांग्रेस नेतृत्वले उनीहरूलाई उम्मेदवार बनाउन चाहेन । दुवै नेता सार्वजनिक कार्यक्रमहरूमा देखिएका छैनन् । यद्यपि चाक्सीबारी निवास पुगेका सबै उम्मेदवारलाई प्रकाशमान र महाराजगञ्ज निवास पुग्नेलाई शशांकले शुभकामना दिइरहेका छन् । काठमाडौं उपत्यकाका अधिकांश उम्मेदवार प्रकाशमानबाट प्रत्यक्ष सहयोगको अपेक्षा राख्दछन् ।

‘प्रकाश दाई यस पटक जुनसुकै कारणले चुनाव नलडेको भए पनि कम्तीमा काठमाडौंका सबै क्षेत्रमा उम्मेदवारसँग देखिएर भोट मागिदिँदा नतिजामा फरक पर्छ’, काठमाडौंका एक कांग्रेस उम्मेदवारले भने ।

शशांक भने निर्वाचन प्रचारप्रसारको औपचारिक क्रम सुरु भएपछि जिल्लाहरूमा पुग्ने योजनामा छन् । ‘प्रचारप्रसार सुरु भएपछि देशभर जाने योजना छ । कांग्रेसका उम्मेदवार सबैले जितुन् भन्ने छ र भ्याएसम्मका ठाउँमा पुग्ने प्रयास पनि गर्नुहुन्छ’, शशांकका सहयोगी सुरज उप्रेतीले नेपाल प्रेससँग भने ।

उम्मेदवार नरहेका निवर्तमान उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार पनि पार्टीका उम्मेदवारलाई जिताउन सक्रियता पूर्वक लागेको देखिन्छ । चितवन २ मा उम्मेदवार नबनेका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठ कांग्रेसको नयाँ नेतृत्वसँग पनि निकट छन् । उनलाई नयाँ केन्द्रीय समितिले भवन पुनर्निर्माणको जिम्मा दिएको छ ।

संसदीय राजनीतिमा लामो अनुभव बोकेका रुपन्देहीका बालकृष्ण खाँणदेखि सिन्धुपाल्चोकका मोहन बस्नेतसम्म यस पटक प्रत्यक्ष चुनावी मैदानमा छैनन् । यद्यपि कांग्रेसका उम्मेदवारहरूले उनीहरूबाटै धेरै आस गरेका छन् । दुवै जिल्लाका उम्मेदवारहरूले खाँण र बस्नेतलाई भेटेरै शुभकामना लिएका छन् ।

खाणको निर्वाचन क्षेत्र रुपन्देही ३ मा उनीनिकट सुशील गुरुङ कांग्रेसबाट उम्मेदवार छन् । मोहन बस्नेतको प्रभाव क्षेत्र रहेको सिन्धुपाल्चोकको १ बाट जंगबहादुर लामा र २ बाट वंशलाल तामाङ उम्मेदवार बनेका छन् । आफै चुनाव लड्ने तयारी गरेको भए पनि उम्मेदवार बन्न वञ्चित बस्नेतले पार्टी जिताउन आफू सक्रिय रहने बताएको निकटस्थहरू बताउँछन् ।

निवर्तमान गृहमन्त्री रमेश लेखक पनि यस पटक उम्मेदवार बन्नबाट वञ्चित भए । उनको चाहना भए पनि कांग्रेसले यस पटक उनलाई उम्मेदवार बनाएन । जेजनी आन्दोलनमा दमनको आरोप लागेको र छानबिन समितिको प्रतिवेदन नआएको कारण उनलाई उम्मेदवार नबनाइएको हो ।

उनले विगतमा जितेको कञ्चनपुर २ मा यस पटक हरि बोहरा उम्मेदवार छन् । कञ्चनपुर पुगेर कांग्रेसको गतिविधिमा लेखक सक्रिय भइसकेका छन् । लेखकको सक्रिय सहयोग रहेमा कञ्चनपुरका तीनवटै क्षेत्रमा कांग्रेसले जित्ने दाबी स्थानीय नेताहरू गर्छन् ।

अघिल्लो पटक कांग्रेसबाट प्रत्यक्षमा जित्ने एक मात्रै महिला नेतृ सीता गुरुङ यस पटक उम्मेदवार छैनन् । यद्यपि उनी कांग्रेस

उम्मेदवार सन्तोष सुब्बाका प्रचार एवं रणनीतिक भेलाहरूमा सहभागी भएको पाइन्छ । अघिल्लो पटक ओखलढुंगाबाट विजयी नेता रामहरि खतिवडा अन्तिम समयमा कांग्रेसबाट उम्मेदवार बन्न रोकिए । यद्यपि चुनावी प्रचारका कार्यक्रम र भेलाहरूमा उनी खटिएका छन् ।

‘हिजो म लड्दा साथीहरू लागेर जिताउनुभयो , आज अर्को साथी उम्मेदवार बन्दा हामी सबै लागेर जिताउँछौँ’, उम्मेदवार नभए पनि कांग्रेस जिताउन आफू लागिपरेको भन्दै खतिवडाले भने । भक्तपुर २ मा अघिल्लो पटक एमालेका महेश बस्नेतलाई हराएका दुर्लभ थापा यस पटक उम्मेदवार नबने पनि कांग्रेस उम्मेदवार कबिर राणाको प्रचार अभियानहरूमा सँगै देखिएका छन् ।

उम्मेदवार नबन्ने कांग्रेसका प्रभावशाली नेतामध्ये सबैभन्दा महत्त्वपूर्ण भूमिका चैँ उपसभापति विश्वप्रकाश शर्माले पाएका छन् । उनले विशेष महाधिवेशन अघि नै आफू प्रत्यक्ष वा समानुपातिक कतै पनि उम्मेदवार नबन्ने घोषणा गरेका थिए । कांग्रेसले शर्मालाई निर्वाचन परिचालन समितिको संयोजक बनाएको छ ।

प्रवक्ता देवराज चालिसे पनि उम्मेदवार छैनन् । उनी निर्वाचन प्रचारप्रसार समितिको संयोजक छन् । उपसभापति पुष्पा भुसाल पनि यस पटक उम्मेदवार छैनन् । उनी निर्वाचन परिचालन र समन्वय लगायतकै काममा सक्रिय छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *