काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेकी आशिका तामाङसँग पैसा माग्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नाममा धाकधम्की दिइएको छ । सो पार्टीको लेटरहेडमा ‘आर्थिक विभाग प्रमुख क. कविर’ को हस्ताक्षरसहित पत्र नै पठाएर पैसा मागिएको हो ।

पत्रमा पार्टी सञ्चालन गर्न सत्ता र जनमुक्ति सेना परिचालन गर्न भन्दै आर्थिक सहयोगको माग गरिएको छ । परिवर्तनकारी आन्दोलनका लागि पार्टीले विशेष आर्थिक अभियान सञ्चालन गरिरहेको पनि पत्रमा उल्लेख छ ।

१५ माघको मिति राखिएको पत्रमा लेखिएको छ, ‘हामी स्पष्ट गर्न चाहन्छौं, नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्न महान सशस्त्र जनविद्रोहको माध्यमबाट अगाडी बढिरहेका छौँ । इतिहासले माग गरेको परिवर्तनकारी आन्दोलनका लागि हामीले सञ्चालन गरेको विशेष मार्थिक अभियानलाई आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौं । सहयोगको लागि धन्यवाद !’

हेर्नुस् पत्र

पत्रमा कति रकम भन्ने उल्लेख छैन । तर, आफ्नो सचिवालयका व्यक्तिहरूलाई फोन र म्यासेजमार्फत तत्कालका लागि ५० हजार मागिएको तामाङले बताइन् । पैसा नदिएको खण्डमा आफूलाई असहयोग र अवरोध गर्ने चेतावनीसमेत दिइएको उनको भनाइ छ ।

तामाङको सचिवालयका एक सदस्यका अनुसार सुरूमा फोन गरेर उनीहरूले चुनावमा सहयोग गर्ने कुरा गरेका थिए । तर, पछि पैसा माग्न थालेको उनले बताए

‘सुरूमा सहयोग गर्छौँ भनेँ । बिस्तारै पैसा माग्न थाले । अहिले त पैसा नदिए तपाईँलाई असहयोग गर्छौँ, चुनावै हुन दिन्नौँ भन्ने कुराहरू गरिरहेका छन् । बम पड्काइदिने घुमाउरो धम्की पनि दिएका छन्,’ ती सदस्यले भने ।

उनलाई पठाइएको इनबक्स म्यासेजमा भनिएको छ, ‘केन्द्रीय पार्टी जिल्लाबाट ५० हजार रूपैयाँ अपेक्षा गरेको जानकारी गराउँछु ।’

यताबाट अहिले पैसा दिन नसकिने बताइएपछि ती व्यक्तिले लेखेका छन्, ‘कति सकिन्छ सर, सहयोग त गर्नैपर्ने हुन्छ । पार्टीले पठाएको चिठी आशिका दिदीलाई देखाउनुभयो होला । के आयो जवाफ ?’

उनले थप लेखेका छन्, ‘चुनाव लड्ने पैसा छ, सहयोग गर्ने पैसा छैन भन्नु मुर्खता हो । चुनाव जित्ने हो भने सहयोग गर्नु, अन्यथा कुनै सरोकार भएर त्यहाँबाट एमाले पनि जित्न सक्छ । सहयोग गर्नुभयो भने हामी पनि सहयोग गर्ने हो ।’

नेकपा (माओवादी) नामको पार्टी अहिले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा छ । उनले चुनावअघि आफू महासचिव रहने गरी यो नामको पार्टी दर्ता गरेका थिए । त्योभन्दा अघि उनको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टीमात्रै थियो ।

ह्ववाट्सएपमा पैसाका लागि ब्ल्याकमेलिङ गर्ने व्यक्तिले नेकपा (माओवादी) ले आगामी चुनाव बहिष्कार गर्ने, जनमुक्ति सेना पुनर्गठन गरी सशस्त्र जनविद्रोह गर्ने, तथा फागुन २०/२१ गते नेपाल बन्द गर्ने उल्लेख गरिएका पर्चा/पम्प्लेटहरू पठाएका छन् । साथै, सशस्त्र युद्ध गर्ने चेतावनी दिइएको एउटा विज्ञप्ति पनि पठाएका छन् । यो विज्ञप्ति नेकपा (माओवादी) को लेटरहेडमा भए पनि ‘महासचिव क. गौरव’ को हस्ताक्षर छ । गौरव भनेका सीपी गजुरेल हुन्, जो अहिले वैद्य नेतृत्वको माओवादीका महासचिव छन् । उनको पार्टीको नाम भने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल छ । पार्टीको नाम र महासचिवको नाममा विरोधाभास देखिन्छ ।

आशिकाले आफूलाई आइरहेका धाकधम्कीबारे प्रहरीमा उजुरी गर्ने तयारी गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *