काठमाडौँ । टी–२० विश्वकप भोलि शनिबारदेखि सुरु हुँदैछ। प्रतिक्षित प्रतियोगितामा २० वटा टोलिलाई चार समूहमा विभाजन गरिएको छ। जसअनुसार २० टोलिका करिब ३०० खेलाडी विश्वकपमा सहभागिता जनाउँदैछन्।
भारत र श्रीलङ्काको संयुक्त आयोजनामा हुने यस प्रतियोगितामा ४८ प्रतिशत खेलाडीको उमेर ३० वर्षभन्दा माथि छ।
क्यानडाका युवराज समरा यस प्रतियोगिताका सबैभन्दा कान्छा खेलाडी हुन्। उनको उमेर १९ वर्ष १३० दिन छ। त्यस्तै, ओमानका मोहम्मद नदीम सबैभन्दा पाका खेलाडी हुन्। उनको उमेर ४३ वर्ष १५५ दिन रहेको छ।
टोलिहरुको कुरा गर्दा अफगानिस्तान र नेपाल सबैभन्दा युवा टिम हुन्। दुवै टिमको औसत उमेर २५–२५ वर्ष रहेको छ। अर्कोतर्फ न्युजिल्यान्ड र अमेरिकाका टिमहरू सबैभन्दा पाका छन्। यी दुवै टिमको औसत उमेर ३१–३१ वर्ष रहेको छ।
यसै सन्दर्भमा नेपाल रहेको समूह ‘सी’को औसत उमेरबारे यहाँ चर्चा गरौं। यस समूह प्रतियोगिताको सबैभन्दा युवा समूह हो। यस समूहमा समावेश सबै टिमहरूको औसत उमेर ३० वर्षभन्दा कम छ। इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्डको औसत उमेर २९ वर्ष छ। जबकि नेपालको औसत उमेर २५ वर्ष रहेको छ।
यस समूहमा ३० वर्षभन्दा कम उमेरका ४१ खेलाडी छन्। तीमध्ये २ खेलाडी १९–१९ वर्षका छन्। ३५ देखि ४० वर्ष उमेर समूहका ३१ खेलाडी छन् भने ४० वर्षभन्दा माथिका केवल १ खेलाडी मात्र छन्।
नेपालः
नेपाल समूहकै सबैभन्दा युवा टिम रहेको छ। टोलिको औसत उमेर २५ वर्ष छ। १४ खेलाडीमध्ये १३ खेलाडी ३० वर्षभन्दा कम उमेरका छन्। १९ वर्षिय गुलशन झा सबैभन्दा कान्छा खेलाडी हुन् भने ३४ वर्षका करण केसी सबैभन्दा अनुभवी खेलाडी हुन्।
इङ्ग्ल्यान्डः
टोलिको औसत उमेर २९ वर्ष छ। ३० वर्षभन्दा माथिका ७ खेलाडी छन्। २१ वर्षका रेहान अहमद सबैभन्दा कान्छा खेलाडी हुन् भने ३७ वर्षका आदिल राशिद सबैभन्दा अनुभवी खेलाडी हुन्।
वेस्ट इन्डिजः
यस टोलिमा ३० वर्षभन्दा माथिका ९ खेलाडी छन्। २३ वर्षका म्याथ्यु फोर्ड सबैभन्दा कान्छा खेलाडी ३७ वर्षिय जोनसन चार्ल्स सबैभन्दा पाको खेलाडी हुन्। यस टोलिको औसत उमेर २९ वर्ष रहेको छ।
इटालीः
पहिलो पटक कुनै पनि आईसीसी प्रतियोगिताका लागि छनोट भएको यस टोलिको औसत उमेर २९ वर्ष छ। ३० वर्षभन्दा माथिका ७ खेलाडी छन्। २३ वर्षका अली हसन सबैभन्दा कान्छा खेलाडी हुन् भने ४२ वर्षिय वेन म्याडसन यस समूहमा ४० वर्षभन्दा माथिका एक मात्र खेलाडी हुन्।
स्कटल्यान्डः
टोलिको औसत उमेर २९ वर्ष छ। टिममा अनुभव र युवाको राम्रो मिश्रण देखिन्छ, जहाँ ३० वर्षभन्दा माथिका ७ खेलाडी छन्। १९ वर्षिय जैनुल्लाह एहसान सबैभन्दा कान्छा खेलाडी हुन् भने ३८ वर्षिय रिची बेरिङ्टन सबैभन्दा अनुभवी खेलाडी हुन्।
साथसाथै, अन्य समूहका सम्पूर्ण टोलिको औसत उमेरबारे पनि जानकारी लिऔं।
समूह ‘ए’
यस समूहमा अमेरिका सबैभन्दा पाको टिम हो भने नामिबिया सबैभन्दा युवा टिम रहेको छ। अमेरिकाको औसत उमेर ३१ वर्ष छ भने नामिबियाको औसत उमेर २६ वर्ष रहेको छ।
भारतः
भारतको औसत उमेर २९ वर्ष रहेको छ। टोलिका ८ खेलाडीले ३० वर्ष पार गरिसकेका छन्। ७ खेलाडी २० देखि ३० वर्ष उमेर समूहका छन्। सबैभन्दा पाको खेलाडी ३५ वर्षका सूर्यकुमार यादव हुन् भने सबैभन्दा २३ वर्षिय तिलक वर्मा कान्छा खेलाडी हुन्।
अमेरिकाः
१५ खेलाडीमध्ये १२ खेलाडी ३० वर्षभन्दा माथिका छन्। २१ वर्षका सैतेजा मुक्कामाला सबैभन्दा युवा खेलाडी हुन् भने ३५ वर्षका अली खान सबैभन्दा पाको खेलाडी हुन्। टिमको औसत उमेर ३१ वर्ष रहेको छ।
नामिबियाः
नामिबियाको औसत उमेर २६ वर्ष रहेको छ। १० खेलाडी २० देखि ३० वर्ष उमेर समूहका छन्। २० वर्षका ज्याक ब्रासेल सबैभन्दा युवा खेलाडी हुन् भने ३५ वर्षका बर्नार्ड शोल्ट्ज सबैभन्दा अनुभवी खेलाडी हुन्।
नेदरल्यान्ड्सः
नेदरल्यान्ड्सको औसत उमेर २९ वर्ष रहेको छ। ४१ वर्षका रूलोफ भान डर मर्वे सबैभन्दा पाको खेलाडी हुन् भने २२ वर्षका ज्याक लायन–क्यासे सबैभन्दा युवा खेलाडी हुन्।
पाकिस्तानः
पाकिस्तानको औसत उमेर २८ वर्ष छ। ११ खेलाडी २५ देखि ३५ वर्ष उमेर समूहका छन्। २२ वर्षका नसीम शाह सबैभन्दा युवा खेलाडी हुन् भने ३५ वर्षका फखर जमान सबैभन्दा अनुभवी खेलाडी हुन्।
समूह ‘बी’
यस समूहमा सबैभन्दा पाको टिम ओमान रहेको छ जसको औसत उमेर ३१ वर्ष छ। अष्ट्रेलियाको औसत उमेर ३० वर्ष छ भने श्रीलंकाको औसत उमेर सबैभन्दा कम २७ वर्ष छ।
अष्ट्रेलियाः
टोलिको औसत उमेर ३० वर्ष रहेको छ। १० खेलाडी ३० वर्ष उमेर पार गरिसकेका छन् भने ५ खेलाडी ३० वर्षभन्दा कम उमेरका छन्। २२ वर्षका कूपर कोनोली सबैभन्दा युवा खेलाडी हुन् भने ३६ वर्षका मार्कस स्टोयनिस सबैभन्दा अनुभवी खेलाडी हुन्।
श्रीलंकाः
टिमको औसत उमेर २७ वर्ष छ। ३० वर्षभन्दा माथिका ५ खेलाडी छन्। १० खेलाडी २० देखि ३० वर्ष उमेर समूहका छन्। २३ वर्षका दुनिथ वेल्लालागे सबैभन्दा युवा खेलाडी हुन् भने ३५ वर्षिय कुसल परेरा सबैभन्दा सिनियर खेलाडी हुन्।
जिम्बाब्वेः
टोलिको औसत उमेर २८ वर्ष छ। ६ खेलाडी २५ देखि ३० वर्ष उमेर समूहका छन्। २२ वर्षका ब्रायन बेनेट सबैभन्दा युवा खेलाडी हुन् भने ३९ वर्षका सिकन्दर रजा सबैभन्दा अनुभवी खेलाडी हुन्।
आयरल्यान्डः
७ खेलाडी २५ देखि ३० वर्ष उमेर समूहका छन्। २२ वर्षका टिम टेक्टर सबैभन्दा युवा खेलाडी हुन् भने ३५ वर्षका पल स्टर्लिङ सबैभन्दा सिनियर खेलाडी हुन्। टिमको औसत उमेर २८ वर्ष छ।
ओमानः
टोलिको औसत उमेर ३१ वर्ष रहेको छ। १० खेलाडी ३० वर्षभन्दा माथिका छन्। २४ वर्षका नदीम खान सबैभन्दा युवा खेलाडी हुन् भने ४३ वर्षका मोहम्मद नदीम सबैभन्दा अनुभवी खेलाडी हुन्।
समूह ‘डी’
यस समूहमा ४ टिमको औसत उमेर ३० वर्षभन्दा कम छ। ३१ वर्षको औसत उमेर भएको न्यूजील्यान्ड अमेरिकासँगै प्रतियोगिताको सबैभन्दा पाको टिम रहेको छ।
दक्षिण अफ्रिकाः
९ खेलाडी ३० वर्षभन्दा माथिका रहेका छन्। १९ वर्षका क्वेना मफाका सबैभन्दा युवा खेलाडी हुन् भने ३६ वर्षका डेभिड मिलर सबैभन्दा पाको खेलाडी हुन्।
न्यूजील्यान्डः
समूहकै सबैभन्दा पाको टिममध्ये एक रहेको छ जसको औसत उमेर ३१ वर्ष छ। १२ खेलाडी ३० वर्षभन्दा माथिका छन्। २६ वर्षका रचिन रविन्द्र सबैभन्दा युवा खेलाडी हुन् भने ३५ वर्षिय जेम्स नीशम सबैभन्दा सिनियर खेलाडी हुन्।
अफगानिस्तानः
टोलिको औसत उमेर २५ वर्ष छ। १२ खेलाडी २० देखि ३० वर्ष उमेर समूहका छन्। २० वर्षका मोहम्मद इशाक सबैभन्दा युवा खेलाडी हुन् भने ४० वर्षका मोहम्मद नबी सबैभन्दा सिनियर खेलाडी हुन्।
यूएईः
टोलिको औसत उमेर २८ वर्ष छ। ११ खेलाडी २५ देखि ३५ वर्ष उमेर समूहका छन्। २१ वर्षका ध्रुव पराशर सबैभन्दा युवा खेलाडी हुन् भने ३६ वर्षका सिमरनजीत सिंह सबैभन्दा सिनियर खेलाडी हुन्।
क्यानडाः
टोलिको औसत उमेर २९ वर्ष रहेको छ। ८ खेलाडी ३० वर्षभन्दा माथिका छन्। १९ वर्षका युवराज समरा सबैभन्दा युवा खेलाडी हुन् भने ३७ वर्षका नवनीत धालीवाल सबैभन्दा पाको खेलाडी हुन्।
नेपालले आइतबार इङ्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। यस्तै, फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा स्कटल्यान्डसँग खेल्ने कार्यतालिका छ। नेपालका सबै खेल मुम्बईस्थित वानखेडे मैदानमा हुनेछ। नेपालका कप्तान रोहित पौडेलले बिहीबार भएको क्याप्टेन्स मिटमा आफूले सक्दो राम्रो प्रदर्शन गर्ने बताएका थिए।
यस्तै, रोहितले २०१४ को विश्वकप हेर्दै हुर्किएको बताउँदै अब आफूहरुलाई विश्वकपमा हेरेर अब आउने पुस्ता प्रेरित हुने पनि बताए।
विश्वकप खेल्ने नेपाली टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम
