२६ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका सबै १६५ सिटको नतिजा आइसकेको छ । समानुपातिकको मतगणना पनि लगभग अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगद्वारा जारी मंगलबार ९ बजेको तथ्यांकअनुसार एक करोड ६ लाख ३० हजार १४८ सदर मत गणना भएको छ । जसमा ५० लाख ९२ हजार ५७२ मत राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख २८ हजार ३९१ मत प्राप्त गर्दा तेस्रो स्थानको नेकपा एमालेले १४ लाख ३८ हजार ४९३ मत पाएको छ ।

यस्तै नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ८९ हजार ९०८ मत पाउँदा अन्य दुई दलले पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका छन् ।

जसमा हर्कराज राई(साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । हालसम्मको समानुपातिकको गणनामा श्रम संस्कृतिले तीन लाख ७२ हजार ४२९ मत प्राप्त गर्दा राप्रपाले तीन लाख २८ हजार ३७ मत पाएको छ ।

अन्य दलले थ्रेसहोल्ड कटाउने सम्भावना निकै न्युन छ । निर्वाचन आयोगको प्रारम्भिक रिपोर्टअनुसार समानुपातिकतर्फ एक करोड नौ लाख ७७ हजार ७११ मत खसेको छ ।

‘त्यो तथ्यांक मतदान अधिकृतले जिल्ला निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले केन्द्रमा टिपाएको तथ्यांक हो,’ निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले भने, ‘त्यसमा केही तलमाथि हुन्छ ।’

उनका अनुसार समानुपातिक तर्फको मतगणना मंगलबार राति नै सकिने सम्भावना कम छ ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेले पनि सोही कुरा दोहोर्‍याए । ‘दिउँसो ५ बजे ६ निर्वाचन क्षेत्रमा गणना चलिरहेको थियो,’ उनले भने, ‘त्यो मध्ये एक दुई क्षेत्रमा अहिले वा केही बेर पछि सम्ममा गणना सकिनसक्छ । भोलि बिहानसम्ममा सबै निर्वाचन क्षेत्रमा मतगणना सकिन्छ ।’

उनका अनुसार गोरखा–१, गोरखा–२, धनुषा–१, इलाम–१, संखुवासभा र बर्दिया–२ मा दिउँसो पाँच बजेसम्म मतगणना जारी थियो । ‘हिजो अबेर मात्रै प्रत्यक्षतर्फको गणना सकेका क्षेत्रमा आजै गणना नसकिनसक्छ । अन्य क्षेत्रमा सकिन्छ,’ उनले भने ।

समानुपातिक तर्फको मतगणना सकिएपछि दलहरूलाई सिट बाँडफाँट गरेर समावेशीताका आधारमा सांसद पठाउन लगाउने आयोगको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *