कालिकोट — रास्कोट नगरपालिका लाई डिजिटल पालिकाको रूपमा रूपान्तरण गर्ने उद्देश्यले “Transforming the Palika through Digital” परियोजना कार्यान्वयनमा ल्याइएको छ। कर्णाली प्रदेश सरकार अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP/ PPSU) मार्फत उक्त परियोजना अघि बढाइएको हो।
उक्त कार्यक्रम अन्तर्गत नगरपालिकाको सेवा प्रवाहलाई प्रविधिमैत्री, छिटो, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। डिजिटल प्रविधिको प्रयोगमार्फत प्रशासनिक कामकारबाहीलाई सहज बनाउने, सेवा प्रवाहमा सुधार ल्याउने तथा नागरिकलाई घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्य रहेको जनाइएको छ।
यस परियोजनाले नगरपालिकाको समग्र सुशासन प्रणालीलाई सुदृढ पार्दै आधुनिक सूचना प्रविधिमा आधारित सेवा विस्तारमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नगर प्रमुख धर्मराज शाही, उप–प्रमुख पोशन मणिराज बराल, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाही लगायत सम्पूर्ण कार्यपालिका सदस्यहरूको नीतिगत सहयोग र सक्रिय समर्थनले परियोजना कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।
नगरपालिकाले डिजिटल पालिका निर्माण अभियानलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला निकाय तथा नागरिकहरूको सहकार्य आवश्यक रहेको पनि जनाएको छ।
अन्त्यमा, नगरपालिकाले “#we_build_our_municipal” अभियानमार्फत समृद्ध र प्रविधिमैत्री स्थानीय तह निर्माणतर्फ सबैलाई सहकार्य गर्न आह्वान गरेको छ।
