सुर्खेतको वीरेन्द्रनगरस्थित होटलमा भइरहेको पार्टी कार्यक्रमका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
एमालेले आयोजना गरेको “निर्वाचन समीक्षा तथा पुनर्गठन सम्बन्धी” कार्यक्रममा सहभागी हुन उनी सुर्खेत पुगेका थिए। वीरेन्द्रनगरको शुभम होटलमा कार्यक्रम चलिरहेकै समयमा प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रत्यक्षदर्शीका अनुसार जिल्ला प्रहरी प्रमुख (एसपी) ठाकुरप्रसाद पोखरेल आफैं गाडी लिएर होटल पुगेका थिए। कार्यक्रम चलिरहेकै बेला उनलाई बाहिर बोलाएर नियन्त्रणमा लिइएको एमाले कार्यकर्ताले बताएका छन्।
पछि उनलाई प्रहरी प्रमुखले आफ्नै गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय सुर्खेततर्फ लगिएको थियो। प्रहरी स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण विभागको पत्रपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनलाई नियन्त्रणमा लिएको हो।
घटनाका बेला कार्यक्रममा एमालेका वरिष्ठ नेताहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा र बादललगायतको उपस्थिति रहेको बताइएको छ। कार्यक्रम भने रोकिएको छैन।
यस घटनापछि पार्टी कार्यकर्ताबीच केहीबेर हलचल देखिए पनि कार्यक्रम जारी रहेको जनाइएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख एसएसपी सन्तोष सिंह राठौरले विभागीय पत्रका आधारमा नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।
