प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औँ महाधिवेशनलाई ‘एकता महाधिवेशन’ बनाउने सम्भावना दिनप्रतिदिन कमजोर बन्दै गएको निष्कर्ष निकालेको छ। याे निश्कर्षसंगै कांग्रेस फुटकाे दिशातिर गएको देखिन्छ । पूर्णबहादुर खड्काको निवास गल्फुटारमा बसेको शीर्ष नेताहरूको बैठकले संस्थापन पक्षले बृहत्तर पार्टी एकताप्रति आवश्यक राजनीतिक इच्छाशक्ति नदेखाएको ठहर गरेको हो।

बैठकपछि नेता मीनबहादुर विश्वकर्माले अहिलेको अवस्थामा एकता महाधिवेशन हुने सम्भावना क्षीण बन्दै गएको बताए। यद्यपि, उनले संवाद र सहमतिमार्फत समाधान निस्कने झिनो आशा अझै बाँकी रहेको उल्लेख गरे। उनका अनुसार एक पक्षले एकल रूपमा संगठनात्मक गतिविधि अघि बढाइरहँदा पार्टीभित्रको दूरी झन् बढ्ने जोखिम देखिएको छ।

नेता डा. प्रकाशशरण महतले पनि संस्थापन पक्षले छलफलमा एकताको प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसअनुसार काम नगरेको आरोप लगाए। उनले नेतृत्वले सबैलाई समेट्ने भन्दा आफूअनुकूलको पार्टी संरचना बनाउन खोजेको आभास भएको टिप्पणी गरे। डा. महतका अनुसार यस विषयमा डा. शेखर कोइरालासँग समेत समान धारणा रहेको र निरन्तर परामर्श भइरहेको छ


कांग्रेसभित्रको यो विवाद केवल गुटगत असन्तुष्टिको विषय मात्र होइन, नेतृत्वप्रतिको विश्वास र पार्टी सञ्चालन शैलीमाथिको प्रश्न पनि हो। एकातिर दुवै पक्षले पार्टी एकताको पक्षमा रहेको दाबी गरिरहेका छन् भने अर्कोतर्फ सार्वजनिक अभिव्यक्ति र गतिविधिले अविश्वास बढाइरहेको देखिन्छ। महाधिवेशन नजिकिँदै जाँदा संवादभन्दा आरोप–प्रत्यारोप हावी भएमा त्यसले पार्टीको आन्तरिक लोकतन्त्र, संगठनात्मक एकता र आगामी राजनीतिक प्रभावकारितामाथि गम्भीर असर पार्न सक्छ। अब कांग्रेस नेतृत्वले भाषणभन्दा व्यवहारमार्फत एकताको सन्देश दिन सक्ने कि नसक्ने भन्ने नै मुख्य परीक्षा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *