काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण प्रक्रियामा हस्तक्षेप गरेपछि महासचिव शंकर पोखरेलसहितका नेताले फेरि पनि त्यसो गरे स्थिति अप्रिय हुने चेतावनी दिएका छन् ।
सोमबार बैठकको उद्घाटन शत्र सकिएपछि ओलीलाई भेट्न पोखरेल भक्तपुर, गुण्डुस्थित उनको घर पुगेका थिए । तीन घण्टा भन्दा लामो कुराकानी गरेर उनी निस्किए । ओलीको सचिवालयले बताएअनुसार कुराकानी एक्लाएक्लै भएको थियोे । बेलुकी ७ बजे पुगेका पोखरेल त्यहाँबाट राति १०ः३० मा निस्किएका थिए । त्यसबीचमा सुदूरपश्चिमका केही नेतासँग १५ मिनेट कुराकानीबाहेक पूरै समय अध्यक्ष र महासचिवबीच कुरा भएको सचिवालयका एक सदस्यले बताए ।
पोखरेलनिकट एक पदाधिकारीका अनुसार उनले बैठक सञ्चालन गर्ने स्थापित विधिविपरीत आज ओली पेश भएमा हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । सोमबारको बैठकमा प्रस्तुत भएका प्रस्तावमाथि सरसल्लाह नभएकोमा पोखरेलले बढी आपत्ति जनाएको ती पदाधिकारीले बताए ।
‘एक्लै हावी हुन खोज्नुभयो भने स्थिति अप्रिय हुनसक्छ, त्यो परिस्थितिको जिम्मेवार तपाईं स्वयं हुनुपर्नेछ,’ पोखरेलले ओलीलाई भने । ओलीले बैठकमा पेश गरेका एजेण्डा अनुमोदन गराउन होहल्ला गराउने र पारित भएको घोषणासाथ बैठक समापनको योजनाबारे सूचना पाएपछि पोखरेल उनलाई भेट्न गएका थिए ।
ओलीले ‘पार्टी अनुशासनविपरीत’ का नाममा उपमहासचिव योगेश भट्टराई, पूर्व पोलिट्ब्यूरो सदस्य कर्ण थापालगायतका नेतालाई कारबाही गर्नेसम्मको तयारी गरेको खबरले महासचिव पोखरेल रुष्ट बनेको उनीनिकट ती पदाधिकारीले बताए ।
‘आजको बैठक पनि हिजोको जसरी चलाउन खोजे अवस्था सोचेभन्दा फरक हुनसक्छ,’ ती पदाधिकारीले बताए ।
त्यसअघि भानुभक्त ढकाल र विशाल भट्टराई एकसाथ गुण्डु गएका थिए । शंकरसहित चार नेताबीच केहीबेर छलफलपछि ओली-पाेखरेल वान टु वान कुरा भएकाे थियाे ।
आज महासचिवकाे सांगठनिक प्रतिवेदन र पार्टी पुनर्गठन कार्यदलकाे प्रतिवेदन बैठकमा पेश गर्नुपर्ने माग उठाउने केही केन्द्रीय सदस्यहरूकाे तयारी छ ।
