नर्वेका स्टार खेलाडी तथा विश्व फुटबलका उत्कृष्ट स्ट्राइकर एर्लिङ हालान्डले फिफा विश्वकप २०२६ मा डेब्युमै प्रभावशाली प्रदर्शन गरिरहेका छन्। उत्तर अमेरिकामा जारी प्रतियोगितामा उनको उत्कृष्ट खेलकै बलमा २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वे इतिहास रच्दै पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ।
अन्तिम १६ अन्तर्गत सोमबार भएको रोमाञ्चक खेलमा हालान्डले दुई गोल गर्दै नर्वेलाई पाँच पटकको विश्व विजेता ब्राजिलमाथि २–१ को ऐतिहासिक जित दिलाए। यो जितसँगै नर्वेले विश्वकपमा पहिलो पटक अन्तिम आठमा स्थान सुरक्षित गर्दा ब्राजिल भने ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको छ।
यस जितपछि नर्वेले ब्राजिलविरुद्धको अपराजित यात्रालाई पाँच खेलसम्म पुर्‍याएको छ। चौथो पटक विश्वकप खेलेको नर्वेले यसअघि कहिल्यै क्वाटरफाइनल पुग्न सकेको थिएन, तर यसपटक टोलीले ऐतिहासिक उपलब्धि हासिल गर्दै नयाँ कीर्तिमान बनाएको छ।
क्लब फुटबलमा म्यानचेस्टर सिटीका लागि गोल मेसिनका रूपमा परिचित हालान्ड राष्ट्रिय टोलीमा पनि उस्तै लयमा छन्। पछिल्ला १४ प्रतिस्पर्धात्मक खेलमा उनले नर्वेका लागि २७ गोल गरेका छन् भने विश्वकप डेब्युमै आफ्नो उत्कृष्ट गोल गर्ने क्षमतालाई निरन्तरता दिँदै टोलीको सफल यात्राका मुख्य नायक बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *