काठमाडौं, साउन १२ – सुनसरीको देवानगञ्जमा भएको घटनापछि विकसित सुरक्षा अवस्थाबारे गृह मन्त्रालयमा सुरक्षा प्रमुखसहित उच्चस्तरीय छलफल सुरु भएको छ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा भइरहेको बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेललगायत उच्च सुरक्षा अधिकारीहरूको सहभागिता रहेको छ।

बैठकमा सुनसरी घटनापछि उत्पन्न सुरक्षा चुनौती, विभिन्न जिल्लामा देखिएको तनाव तथा शान्ति–सुरक्षा कायम गर्न अपनाउनुपर्ने रणनीतिबारे छलफल भइरहेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि स्थानीय क्षेत्रमा तनाव सिर्जना भएको थियो। उक्त घटनाको प्रभाव सुनसरीसँगै तराईका अन्य जिल्लामा समेत देखिएको छ।

यसअघि सोमबार साँझ पनि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेर घटनाको समीक्षा गरिएको थियो। पछिल्लो बैठकमा घटनापछिको समग्र सुरक्षा अवस्था, सम्भावित जोखिम तथा शान्ति–सुरक्षा सुदृढ बनाउन आवश्यक कदमबारे विस्तृत छलफल भइरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *