काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा पार्टीको विधान संशोधन प्रक्रियालाई लिएर तीव्र विवाद भएको छ। केही केन्द्रीय सदस्यहरूले महाधिवेशनबाट पारित व्यवस्थामा परिवर्तन गरिएको भन्दै छानबिन समिति गठनको माग गरेका छन्।
बैठकमा विधान संशोधनका क्रममा संसदीय दलको नेतासम्बन्धी व्यवस्था परिवर्तन गरिएको विषय उठाइएको थियो। उक्त विषयमा छानबिनको माग भएपछि सभापति रवि लामिछानेले आफ्नै पार्टीका नेताविरुद्ध छानबिन समिति बनाउन आफू तयार नभएको बताएका छन्। उनले सबै केन्द्रीय सदस्य आफ्नो परिवारसरह भएकाले यस्तो निर्णय उपयुक्त नहुने धारणा राखेका छन्।
विधानको विषयमा भएको बहसपछि बैठकमा पक्ष–विपक्षबीच मतभेद देखिएको थियो। केही नेताहरूले पार्टीभित्र विधि र पारदर्शिताको पक्षमा जोड दिएका भने अर्का पक्षले गुटगत गतिविधि अन्त्य गर्दै एकतामा जोड दिनुपर्ने बताएका छन्।
बैठकमा मन्त्रीहरूले नियमित रूपमा पार्टी नेतृत्वलाई ब्रिफिङ गर्नुपर्ने प्रस्तावमाथि पनि छलफल भएको थियो। केही नेताहरूले यसले सरकार र पार्टीबीच अनावश्यक द्वन्द्व सिर्जना गर्न सक्ने चिन्ता व्यक्त गरेका छन् भने नेतृत्वले नीति तथा समन्वयका लागि यस्तो व्यवस्था आवश्यक रहेको बताएको छ।
यसैबीच, पार्टीभित्र सचिवालय विस्तार, महाधिवेशन व्यवस्थापन तथा संगठनात्मक विषयमा पनि फरक–फरक धारणा प्रस्तुत भएका छन्। बैठकमा देखिएको मतभेदले रास्वपाभित्र संगठनात्मक र विधानसम्बन्धी विषय अझै समाधान हुन बाँकी रहेको संकेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *