काठमाडौं । अमेरिका र इरानबीच सम्भावित शान्ति सम्झौताबारे चर्चा भइरहेका बेला अमेरिकी गुप्तचर एजेन्सीहरूले युद्धपछि इरानको रणनीतिक क्षमता झन् बलियो बनेको निष्कर्ष निकालेका छन्। सीएनएनका अनुसार इरानले आवश्यक परे होर्मुज जलडमरूमध्य बन्द गरेर विश्व व्यापार र ऊर्जा आपूर्तिमा ठूलो असर पार्न सक्ने क्षमता हासिल गरेको छ।
रिपोर्टमा आणविक वार्ता असफल भए इरानले यमनस्थित हुथी विद्रोहीमार्फत बाब-अल-मन्देव जलमार्गमा पनि संकट सिर्जना गर्न सक्ने उल्लेख गरिएको छ। यसले विश्वका दुई महत्वपूर्ण समुद्री व्यापार मार्ग एकैसाथ प्रभावित हुन सक्ने अमेरिकी अधिकारीहरूको चिन्ता छ।
अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले इरानसँगको सम्भावित सम्झौताका तीन मुख्य सर्त सार्वजनिक गरेका छन्। उनका अनुसार इरानलाई आणविक हतियार बनाउन नदिने, होर्मुज जलडमरूमध्य खुला राख्ने र सम्झौताको पूर्ण पालना गरेपछि मात्र आर्थिक लाभ उपलब्ध गराउने नीति अपनाइनेछ।
भेन्सले इरानलाई अमेरिकाबाट कुनै रकम नदिइने स्पष्ट पार्दै सम्झौताका सबै सर्त पूरा गरेपछि मात्र अन्य देशहरूलाई इरानमा लगानी गर्न अनुमति दिन सकिने बताएका छन्। यसैबीच, अमेरिकी सेनाले इरानले होर्मुज क्षेत्रमा व्यावसायिक जहाजतर्फ ड्रोन पठाइरहेको दाबी गरेको छ।
उता, ट्रम्प प्रशासनभित्रै पनि इरानसँगको सम्झौताबारे मतभेद देखिएको छ। सीआईए प्रमुख जोन र्याटक्लिफ, विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पिट हेगसेथ सम्झौताप्रति सशंकित छन् भने उपराष्ट्रपति जेडी भेन्स, विशेष दूत स्टिभ विटकफ र जेरेड कुश्नर सम्झौतालाई अगाडि बढाउने पक्षमा रहेका छन्।
स्रोत : सीएनएन, एनबीसी न्युज, एक्सियोस तथा एजेन्सी
