नेपाली कांग्रेसका सचेतक निश्कल राइले भारतले गुणस्तर परीक्षणको नाममा नेपाली चिया निर्यातमा अवरोध गरेपछि इलामका चिया उद्योग र किसानहरू समस्यामा परेको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गराइएको छ।
सांसद तथा सचेतक राईले चिया उद्योग नेपालको अर्थतन्त्र र रोजगारीसँग प्रत्यक्ष जोडिएको क्षेत्र भए पनि सरकारले समस्या समाधानका लागि पर्याप्त पहल नगरेको आरोप लगाए। उनले भारतसँग तत्काल कूटनीतिक संवाद गरी निर्यातमा देखिएको अवरोध हटाउन आग्रह गरे। उनका अनुसार चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ भने चिया टिप्ने तथा उद्योगमा कार्यरत श्रमिकहरूको रोजगारीसमेत प्रभावित भएको छ।
उद्योगीहरू बैंकको ऋण र ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको उल्लेख गर्दै उनले यसले स्थानीय परिवारको आय, बालबालिकाको शिक्षा र जनजीवनमा गम्भीर असर परेको बताए। सचेतक राईले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन चियाको गुणस्तर परीक्षणका लागि आवश्यक प्रयोगशाला (ल्याब) स्थापना तथा व्यवस्थापनको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गरेका छन्।
