चितवन । सत्तारूढ दल रास्वपामा १८ वर्ष मुनिका ३५ हजार बढी बालबालिकाले सदस्यता लिएको पाइएको छ ।

बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार १८ वर्ष उमेर पूरा नगरेका प्रत्येक व्यक्तिलाई बालबालिका भनिन्छ । यस्तो परिभाषा उक्त ऐनको दफा २ को (ञ) मा छ । तर बालबालिका सम्बन्धि ऐन २०७५ लाई धव्जी उडाउदै रास्वपाले ३५ हजारबढी सदस्यता बालबालिकालाई बितरण गरेको भेटिएकाे छ ।

चितवनमा जारी प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गरेका छन् । उक्त प्रतिवेदनअनुसार रास्वपाको सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ छ ।

यसमध्ये १८ वर्ष मुनिका सदस्यको संख्या ३५ हजार २५७ छ । यो रास्वपाको कूल सदस्य संख्याको ६.७ प्रतिशत हो । १८ वर्षदेखि ४५ वर्ष उमेर समूहको सदस्य संख्या ३ लाख ३५ हजार ४७८ रहेको छ । यो ६४.१ प्रतिशत हो ।

४६ देखि ६५ वर्ष उमेर समूहको संख्या ९८ हजार ८५७ छ । यो १८.९ प्रतिशत हो । ६५ वर्ष माथिका सदस्यको संख्या १३ हजार ६८२ अर्थात् २.६ प्रतिशत छ । उमेर नखुलाउने संख्या ४० हजार १९१ छ । यो ७.७ प्रतिशत हो ।

रास्वपाको प्रथम महाधिवेशन चितवनमा जारी छ । प्रतिवेदनहरू पेस भइसकेपछि सभापति र केन्द्रीय सदस्यको लागि निर्वाचन प्रकृया सुरु हुनेछ ।

९९ केन्द्रीय सदस्यको लागि निर्वाचन हुनेछ । निर्वाचित हुने ९९ जनामा ७ प्रदेशबाट ५/५ जना अनिवार्य हुने छन् भने प्रदेशमा ५ जना चयन हुँदा २ महिला हुनेछन् । अन्य ६४ पदमा खुला प्रतिस्पर्धा हुनेछ ।

पार्टीको केन्द्रीय सभापति र ९९ केन्द्रीय सदस्य चयन भएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको लागि निर्वाचन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *