चितवन । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी पहिलो महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान प्रक्रियामाथि उम्मेदवार र प्रतिनिधिहरूले प्रश्न उठाएका छन्। भोटिङ मेसिनमा उम्मेदवारहरूको नाम दर्ता क्रम र क्लस्टरअनुसार नदेखिएको भन्दै असन्तुष्टि बढेको हो।
केन्द्रीय सदस्य पदका उम्मेदवार तथा प्रतिनिधिसभा सदस्य गणेश कार्कीले प्रारम्भिक सूची र मतदानका लागि प्रयोग गरिएको अन्तिम सूचीबीच ठूलो अन्तर देखिएको बताए। उनका अनुसार उम्मेदवारहरूको क्लस्टर स्पष्ट छुट्याएर सूची तयार नगरिँदा प्रतिनिधिहरू अन्योलमा परेका छन्।
महाधिवेशन प्रतिनिधि यज्ञमणि न्यौपानेले मतदान प्रक्रियाभन्दा अघि उम्मेदवारहरूको अन्तिम सूची स्पष्ट रूपमा सार्वजनिक हुनुपर्ने बताए। उनले व्यवस्थापनको कमजोरीले प्रतिनिधिहरूलाई उम्मेदवार पहिचान गर्न कठिनाइ भएको टिप्पणी गरे।
केन्द्रीय सदस्य पदकी उम्मेदवार आशिका तामाङले महिला तथा समावेशी क्लस्टरका उम्मेदवारहरूको विवरण व्यवस्थित रूपमा प्रस्तुत हुन नसकेको गुनासो गरिन्। उनले पारदर्शी र सहज मतदान वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।
उम्मेदवार धनञ्जय रेग्मीले उम्मेदवारी दर्ता क्रममा प्राप्त नम्बर र भोटिङ मेसिनमा देखिएको क्रमसंख्या नमिल्दा प्रतिनिधिहरू झुक्किने अवस्था बनेको बताए। उनका अनुसार यसले मतदान प्रक्रियाको विश्वसनीयतामै प्रश्न उठाएको छ।
रास्वपाका नेता उत्तम पौडेलले समस्या प्राविधिकभन्दा बढी व्यवस्थापकीय भएको बताए। उम्मेदवारी फाराम संकलन, सूचीकरण र अन्तिम विवरण तयार गर्ने क्रममा पर्याप्त समन्वय नहुँदा अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ।
त्यस्तै, राजीव खत्रीले महाधिवेशनजस्तो महत्वपूर्ण प्रक्रियामा यस्ता कमजोरी दोहोरिन नहुने बताए। उनले पार्टीले निर्वाचन व्यवस्थापनलाई थप व्यवस्थित र प्रतिनिधिमैत्री बनाउन आवश्यक रहेको धारणा राखे।
यसैबीच, रास्वपा नेतृ ज्वाला संग्रौलाले महाधिवेशन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसर भए पनि व्यवस्थापनमा देखिएका कमजोरीहरूबाट पार्टीले पाठ सिक्नुपर्ने बताइन्। उनले उठेका गुनासा सम्बोधन गर्दै प्रक्रियालाई थप पारदर्शी र विश्वसनीय बनाउन नेतृत्व गम्भीर हुनुपर्ने धारणा व्यक्त गरिन्।
रास्वपाले नयाँ कार्यसमिति चयनका लागि ‘राम–लक्षमण’ भोटिङ मेसिन प्रयोग गरेको छ। मतदान सूची, क्लस्टर व्यवस्थापन र निर्वाचन तयारीबारे उठेका प्रश्नमा पार्टीको आधिकारिक धारणा भने आउन बाँकी छ।
