चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको निर्वाचन सकिएसँगै पदाधिकारी चयनको दौड तीव्र बनेको छ। निर्वाचित हुने एक महामन्त्री पदका लागि पाँच जना नेताले दाबी प्रस्तुत गरेका छन्।
हालका महामन्त्री कवीन्द्र बुर्लाकोटी, पूर्वमन्त्री शिशिर खनाल, विपिन आचार्य, गणेश पराजुली र मनिष झा महामन्त्री पदका प्रमुख आकांक्षीका रूपमा देखिएका छन्। रास्वपाको विधानअनुसार दुई महामन्त्रीमध्ये एक जना सभापतिबाट मनोनीत हुने व्यवस्था रहेकाले निर्वाचित हुने एक पदका लागि प्रतिस्पर्धा केन्द्रित भएको हो।
त्यस्तै, दुई उपसभापति पदका लागि विराजभक्त श्रेष्ठ, तोषिमा कार्की, सोविता गौतम र लिमा अधिकारी चुनावी मैदानमा छन्। तीन सहमहामन्त्री पदका लागि यज्ञमणि न्यौपाने, सागर ढकाल, रमेश प्रसाई र डा. अंकिता यादवले दाबी गरेका छन्।
१९ सदस्यीय केन्द्रीय पदाधिकारीमध्ये बाँकी पदहरू भने सभापतिले मनोनयनमार्फत पूर्ति गर्ने व्यवस्था छ। पदाधिकारी चयनमा सहमति जुटाउने प्रयास जारी रहेको नेताहरूले बताएका छन्। सहमति हुन नसके मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिने सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *