राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि सम्पन्न निर्वाचनमा करिब एक तिहाइ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएका छैनन्।
रास्वपा निर्वाचन आयोगका अनुसार मतदानका लागि योग्य ४ हजार ३११ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मात्र मत खसालेका छन्। यसअनुसार १ हजार ३५२ प्रतिनिधिले मतदान गरेनन् विहिवार सम्पन्न निर्वाचनमार्फत पार्टीको नयाँ केन्द्रीय समिति चयनका लागि मत सङ्कलन गरिएको हो। केन्द्रीय सदस्यका ९९ पदका लागि ३७९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
निर्वाचन आयोगले देशभित्र रहेका प्रतिनिधिहरूको मतदान प्रक्रिया सम्पन्न भइसकेको जनाएको छ। विदेशमा रहेका प्रवासी प्रतिनिधिहरूका लागि भने मोबाइल एपमार्फत मतदानको व्यवस्था गरिएको छ।
प्रवासी प्रतिनिधिको मतदान सम्पन्न भएपछि अन्तिम मतगणना गरी परिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ, जहाँ नयाँ नेतृत्व चयनका लागि विभिन्न तहका निर्वाचन र राजनीतिक छलफलहरू चलिरहेका छन्।
