विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको चौथो दिन नेपाल सरकारले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षसँग संयमता अपनाउन अपिल गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाली समाज सदियौँदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावमा आधारित रहेको उल्लेख गर्दै कुनै पनि विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने स्पष्ट पारेको छ।
सरकारले धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा संलग्न नहुन, भ्रामक सूचना नफैलाउन र अफवाहबाट प्रभावित नभई जिम्मेवार व्यवहार गर्न सबै पक्षलाई आग्रह गरेको छ। साथै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज, धार्मिक संघसंस्था, सञ्चारमाध्यम तथा सर्वसाधारणको सहयोग आवश्यक रहेको जनाएको छ।
विज्ञप्तिअनुसार देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सात दिनको कार्यादेशसहित समिति गठन गरिसकेको छ। समितिले घटनाको कारण, जिम्मेवार पक्ष र भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायसहित प्रतिवेदन पेश गर्नेछ।
सरकारले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको जनाएको छ। साथै पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएको छ।
यद्यपि, घटना भएको चार दिनपछि मात्र सरकारको औपचारिक अपिल सार्वजनिक भएकाले सुरक्षा व्यवस्थापन र प्रारम्भिक सरकारी सक्रियतामाथि प्रश्न उठिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *