काठमाडौं । अमेरिका र इरानबीचको तनाव अस्थायी रूपमा मत्थर भएसँगै सोमबार विश्व बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। यो अप्रिल ८ यताकै सबैभन्दा ठूलो दैनिक गिरावट मानिएको छ।
विश्व बजारको प्रमुख मापदण्ड ब्रेन्ट क्रुडको वायदा मूल्य ११.३ प्रतिशतले घटेर प्रतिव्यारेल ८५.८७ अमेरिकी डलरमा झरेको छ। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटिआई) कच्चा तेलको मूल्य करिब ७ प्रतिशतले घटेर प्रतिव्यारेल ८२.६१ अमेरिकी डलरमा पुगेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकारको आग्रहपछि अमेरिकाले इरानमाथिको सैन्य आक्रमण रोकेको बताएका छन्। उनले युद्धविराम कायम नरहे अमेरिका पुनः सैन्य कारबाहीमा उत्रिन सक्ने चेतावनी पनि दिएका छन्।
युद्धविराम भए पनि विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग होर्मुज जलडमरूमध्यबाट हुने जहाज आवतजावत अझै सामान्य अवस्थामा फर्किएको छैन। उपलब्ध ढुवानी तथ्यांकअनुसार सोमबार बिहानसम्म उक्त मार्गबाट १० भन्दा कम वस्तुवाहक जहाज मात्रै गुडेका थिए, जबकि युद्धअघि दैनिक करिब १०० व्यावसायिक जहाज यही मार्ग प्रयोग गर्ने गर्थे।
यसैबीच, इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरको प्रवेशद्वार बाब अल–मन्देब जलडमरूमध्यमा साउदी अरबका तेल ट्यांकरलाई निशाना बनाउन सक्ने आशंकाले ऊर्जा बजारमा अनिश्चितता कायमै रहेको विश्लेषण गरिएको छ।
जर्मनीको डोइचे बैंकका विश्लेषकहरूले खाडी क्षेत्र र लाल सागरका प्रमुख निर्यात मार्ग एकैपटक प्रभावित हुन सक्ने जोखिम अझै कायम रहेको बताएका छन्। उनीहरूका अनुसार युद्धविराम सकारात्मक संकेत भए पनि क्षेत्रीय द्वन्द्व पूर्ण रूपमा अन्त्य नभएकाले अवस्था अझै संवेदनशील छ।
उता, अमेरिकी सेयर बजारमा मिश्रित कारोबार देखिएको छ। डाउ जोन्स सूचकांक ०.५१ प्रतिशत र एस एन्ड पी ५०० सूचकांक ०.०२ प्रतिशतले बढ्दा प्रविधिमुखी नास्डाक सूचकांक ०.१८ प्रतिशतले घटेको छ।
