प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा कांग्रेस प्रमुख सचेतक वासना थापाले प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारको भूमिकामाथि कडा प्रश्न उठाइन्।
उनले घटनामा दर्जनौँ नागरिक घाइते भएको उल्लेख गर्दै शान्ति सुरक्षा कायम गर्न सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाइन्। ‘नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? यसको स्पष्ट जवाफ सरकारले सदनमा दिनुपर्छ,’ उनले भनिन्। साथै घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनको माग थियो।
थापाले प्रधानमन्त्री र गृहमन्त्रीको मौनतामाथि पनि प्रश्न उठाइन्। काठमाडौँ महानगरका मेयर बालेन शाहले विगतमा प्रधानमन्त्रीलाई लक्षित गर्दै गरेको सामाजिक सञ्जालको टिप्पणी स्मरण गराउँदै उनले कटाक्ष गरिन्, ‘हिजो आक्रोश पोख्ने प्रधानमन्त्री आज मौन हुनुहुन्छ, सदनमा आँसु झार्ने गृहमन्त्री पनि आज मौन हुनुहुन्छ। के सरकारले लगाएको कालो चश्माले मृत्यु र पीडाको रङ पनि फरक–फरक देख्छ ?’
उनले नेतृत्व भनेको केवल प्रशासन सञ्चालन गर्ने विषय नभई सङ्कटका बेला नागरिकको भरोसा बन्ने जिम्मेवारी पनि भएको बताइन्। सरकारको मौनताले नागरिकमा असुरक्षा र अन्योल बढाएको भन्दै उनले संवेदनशील घटनामा सरकार थप जिम्मेवार र उत्तरदायी बन्नुपर्ने धारणा राखिन्।
कांग्रेसले समाजमा साम्प्रदायिक सद्भाव कायम राख्न, हिंसालाई कुनै पनि रूपमा प्रश्रय नदिन र सामाजिक एकता भड्काउने गतिविधिबाट टाढा रहन सबै पक्षलाई आग्रह गरेको छ। साथै पहिचानभन्दा माथि नेपालीपन, सहअस्तित्व र सामाजिक सद्भावलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिएको छ।
