काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनालाई लिएर प्रतिनिधिसभामा सरकारमाथि चौतर्फी दबाब बढिरहेका बेला विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पनि सरकारसँग कडा प्रश्न उठाएको छ। नेकपाले घटनाको नैतिक र राजनीतिक जिम्मेवारीबाट सरकार उम्किन नसक्ने भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि प्रश्न गरेको हो।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेकपाका सांसद गोपाल शर्माले सुनसरीको घटनामा एक जनाको ज्यान जानु र दर्जनौँ नागरिक घाइते हुनु गम्भीर विषय भएको बताए। उनले यति ठूलो घटना हुँदा पनि सरकार संवेदनशील नदेखिएको आरोप लगाए।
‘गृहमन्त्रीले यो घटनाको जिम्मेवारी लिनुहुन्छ कि अरूलाई दिनुहुन्छ ? सार्वजनिक रूपमा “गृह मन्त्रालय चाहिएको छ भने लैजानुस्” भन्नु नेतृत्वको जिम्मेवारीबाट पन्छिन खोजेको संकेत हो,’ उनले भने, ‘राज्य संकटका बेला अभिभावक बन्नुपर्छ, जिम्मेवारीबाट भाग्ने होइन।’
सांसद शर्माले प्रधानमन्त्रीको मौनतामाथि पनि प्रश्न उठाए। ‘यति ठूलो घटना हुँदा प्रधानमन्त्री कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ? न सदनलाई जानकारी छ, न देशलाई। विगतमा राज्य संवेदनशील हुनुपर्छ भन्नेहरू आज आफ्नै पालामा मौन छन्,’ उनले टिप्पणी गरे।
उनले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दै प्रधानमन्त्री वा गृहमन्त्री स्वयं सदनमा उपस्थित भएर घटनाबारे स्पष्ट जानकारी दिनुपर्ने बताए।
सुनसरीको कप्तानगञ्ज घटनालाई लिएर यसअघि नेपाली कांग्रेस र नेकपा (एमाले) ले पनि सरकारको आलोचना गर्दै प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ मागिसकेका छन्। त्यससँगै प्रतिनिधिसभामा सरकारमाथिको राजनीतिक दबाब झन् बढेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *