काठमाडौं । नेकपा (एमाले) ले सुनसरी घटनामा एक जनाको ज्यान गएको विषयलाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीमाथि नैतिक जिम्मेवारीको प्रश्न उठाएको छ।
१४ दिनपछि बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले विगतमा काठमाडौंमा गोली चलेको घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जिम्मेवार ठहर गरिएको प्रसंग स्मरण गराउँदै अहिलेको घटनामा पनि समान मापदण्ड लागू हुनुपर्ने बताइन्।
उनले सुनसरीमा भएको घटनामा एक जनाको मृत्यु भइसकेको अवस्थामा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने कि नपर्ने भन्ने प्रश्न सरकारसमक्ष राखिन्।
‘काठमाडौंमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जिम्मेवार ठहर गरिएको थियो भने सुनसरीमा मानिसको ज्यान जाँदा अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्दैन ? राजीनामा दिनुपर्दैन ?’ अर्यालले सदनमा प्रश्न गरिन्।
अर्यालले सरकारले शान्ति–सुरक्षा कायम गर्न असफल भएको आरोप लगाउँदै दंगा नियन्त्रणमा सरकार कमजोर देखिएको दाबी गरिन्। उनका अनुसार नागरिकको ज्यान जाने अवस्था आउनु राज्यको गम्भीर असफलता हो।
‘देशमा शान्ति–सुरक्षा कायम गर्न सरकार असफल भएको छ। दंगा नियन्त्रण गर्नुको सट्टा सरकारले नागरिकमा थप त्रास सिर्जना गरेको छ,’ उनले भनिन्।
एमालेले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र घटनाको राजनीतिक तथा प्रशासनिक जिम्मेवारी सरकारले लिनुपर्ने माग पनि गरेको छ।
