काठमाडौं — रास्वपा सभापति रवि लामिछानेले हिजो दिउँसो शीतल निवास पुगेर राष्ट्रपतिसँग गरेको भेटले राजनीतिक वृत्तमा नयाँ चर्चा र अनेक अड्कलबाजी जन्माएको छ। उनी सुरुमा सुनसरी घटनाबारे आफैंले पहल गरेर बोलाइएको सर्वदलीय बैठकका निर्णयबारे जानकारी गराउन शीतल निवास पुगेका थिए। तर भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, सर्वदलीय बैठकको सन्देश र विकसित परिस्थितिबारे पनि छलफल भएको स्रोतहरूको दाबी छ।
यो भेटलाई अझ अर्थपूर्ण बनाउने अर्को पक्ष भनेको त्यसलगत्तै प्रधानमन्त्री बालेन्द्र शाहले मात्रै सुनसरीको पछिल्लो सुरक्षा अवस्था र सामाजिक सद्भावसम्बन्धी विषयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसँग सिंहदरबारमा ब्रिफिङ लिनु हो। उक्त बैठकमा गृहमन्त्री सुधन गुरुङ पनि सहभागी थिए।
राजनीतिक स्रोतका अनुसार प्रधानन्यायाधीशको शपथग्रहणपछि प्रधानमन्त्री र राष्ट्रपतिबीच प्रत्यक्ष भेट वा टेलिफोन संवादसमेत नभएको दाबी गरिएको छ। यस्तो अवस्थामा सत्तापक्षका प्रमुख नेतामध्ये एक मानिने रवि लामिछानेको शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गर्नुले राजनीतिक रूपमा विभिन्न प्रश्नहरू उब्जाएको छ।
यसबीच सुनसरी घटनापछि सर्वदलीय बैठक बोलाउन गरिएको पहलको राजनीतिक लाभ रवि लामिछानेतर्फ गएको विश्लेषण हुन थालेको छ। अर्कोतर्फ प्रधानमन्त्री शाह भने सुरक्षा र प्रशासनिक व्यवस्थापनमै केन्द्रित देखिएको टिप्पणी भइरहेको छ।
रास्वपा स्रोतका अनुसार आइतबार रातिदेखि भड्किएको सुनसरीको साम्प्रदायिक तनावबारे तत्काल राजनीतिक पहल गर्नुपर्ने भन्दै रविले प्रधानमन्त्रीमाथि दबाब दिएका थिए। त्यसपछि मात्रै प्रधानमन्त्री शाहले मंगलबार मध्यरात सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेको दाबी पनि स्रोतले गरेको छ।
रवि लामिछानेको शीतल निवास भेट केवल औपचारिक जानकारी आदानप्रदान थियो वा त्यसले बदलिँदो राजनीतिक समीकरणको संकेत बोकेको छ भन्ने प्रश्नले अहिले राजनीतिक वृत्तमा थप चर्चा पाएको छ।

जनआस्थाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *