अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार ललितपुरको कान्तिलोकपथ, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, दोलखाको लामासाँघु–रामेछाप सडक, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक, इलामको मेची राजमार्ग तथा कर्णाली प्रदेशका रुकुम पश्चिम र जाजरकोटका सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
भोजपुरस्थित मध्यपहाडी लोकमार्गमा भने बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। बाग्लुङको कालीगण्डकी करिडोर पनि पहिरोका कारण एकतर्फी सञ्चालनमा रहेको छ भने गोरखाको आरुघाट–गोरखा सडकखण्ड सुचारु रहेको प्रहरीले जनाएको छ।
सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै काभ्रेको बी.पी. राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म तथा मकवानपुरको कान्तिलोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको छ।
प्रहरीले वर्षाका कारण सडकको अवस्था निरन्तर परिवर्तन भइरहेकाले यात्रा अघि सम्बन्धित सुरक्षा निकाय वा स्थानीय प्रशासनसँग सडकको ताजा अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *