काठमाडौं, साउन १५ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मधेश प्रदेशका विभिन्न जिल्लामा उत्पन्न असहज सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै ११ वटा परीक्षा केन्द्रमा सञ्चालन हुने एमबीएस परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।
त्रिविका रजिस्ट्रार महानन्द चालिसेका अनुसार हालको परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगन गर्ने निर्णय गरिएको हो। उनले भने, “प्रदेशमा हाल असहज अवस्था रहेकाले अर्को सूचना जारी नभएसम्म परीक्षा सञ्चालन गर्न सम्भव छैन।”
स्थगित भएका परीक्षा केन्द्रहरूमा जनकपुर, मलंगवा, लालबन्दी, सिरहा, लहान, राजविराज, कञ्चनपुर (सप्तरी), चन्द्रनिगाहपुर, गौर, सिमरा र वीरगञ्ज रहेका छन्।
त्रिविले जनाएको अनुसार यी ११ केन्द्रबाहेक देशका अन्य सबै परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सञ्चालन हुनेछ।
साथै, स्थगित गरिएका केन्द्रहरूको नयाँ परीक्षा तालिका यथाशीघ्र सार्वजनिक गरिने जानकारी त्रिविका सहायक डीन डा. भरत राईले दिएका छन्।
सुरक्षा अवस्था सामान्य भएपछि नयाँ परीक्षा मिति निर्धारण गरी सम्बन्धित विद्यार्थीलाई समयमै सूचना दिइने विश्वविद्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *