सप्तरी, साउन १५ — जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको राजविराज र बोदेबरसाइन क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। बिहीबार राति १० बजेदेखि बोदेबरसाइन नगरपालिकामा लागू गरिएको कर्फ्युलाई विस्तार गर्दै शुक्रबार बिहान ८ बजेदेखि राजविराज क्षेत्रमा पनि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शान्ति–सुरक्षा कायम राख्न र सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु आदेश जारी गरिएको हो।
प्रशासनले जारी गरेको आदेशअनुसार कर्फ्यु क्षेत्रको पूर्वी सीमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी–थलही, उत्तरमा रुपनी रोडस्थित बसविट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्म तोकिएको छ।
कर्फ्यु आदेशको उल्लङ्घन गरी कुनै पनि गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ। साथै, सर्वसाधारणलाई कर्फ्युको पूर्ण पालना गर्दै शान्ति–सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरिएको छ।
कर्फ्यु आदेश प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
सुनसरीको देवानगञ्जमा दुई पक्षबीच भएको झडप उग्र बन्दै गएपछि त्यसको प्रभाव मधेश प्रदेशका अन्य जिल्लामा समेत फैलिएको छ। सोही घटनाको विरोधमा बिहीबार सप्तरीमा प्रदर्शन भएको थियो। त्यसपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको जनाएको छ।
