काठमाडौं, साउन १५ — नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पूर्वी तराईका केही क्षेत्रमा धार्मिक सद्भावमा खलल पुग्ने तथा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
आईजीपी कार्कीले सामाजिक एकतामा असर पुग्ने गरी सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा कानुनविपरीतका गतिविधि गर्ने कार्य कसैको पनि हितमा नहुने स्पष्ट पारेका छन्। उनका अनुसार यस्ता गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन मात्रै बढाउने खतरा रहन्छ।
उनले संवेदनशील परिस्थितिमा अफवाह, घृणा र उत्तेजनाभन्दा विवेक, संयमता र सद्भावको मार्ग अपनाउन सबैलाई आग्रह गरेका छन्। साथै, एकअर्काको अधिकार, आस्था, संस्कृति र मर्यादाको सम्मान गर्नु प्रत्येक नागरिकको साझा दायित्व भएको उनले उल्लेख गरेका छन्।
‘हाम्रो धर्म, संस्कार र संस्कृति फरक–फरक हुन सक्छन्, तर हाम्रो देश एउटै हो र हाम्रो भावना पनि एउटै छ,’ आईजीपी कार्कीले आफ्नो सन्देशमा भनेका छन्।
पूर्वी तराईका विभिन्न क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै उनले सम्पूर्ण नेपालीलाई संयमता, सहिष्णुता र आपसी सम्मानका साथ सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा भाइचारा कायम राख्न आग्रह गरेका छन्। साथै, शान्ति–सुरक्षा कायम राख्न नेपाल प्रहरी प्रतिबद्ध रहेको समेत उनले बताएका छन्।
