काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १:१५ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्ने तय भएको छ।
बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सिता बादीले पनि मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिनेछिन्।
राष्ट्रियसभा सदस्य कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धी ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यसैबीच, आज अर्थ, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिसहित पाँच वटा संसदीय समितिको बैठक पनि बस्नेछ।
ती बैठकहरूमा विभिन्न विधेयक, मन्त्रालयको कार्यसम्पादन, समसामयिक विषय तथा समितिका प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।
