काठमाडौं साउन २१। केही दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरूमा बाढी र पहिरोले यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार धेरै स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडक एकतर्फी सञ्चालनमा रहेका छन्।
पूर्ण रूपमा अवरुद्ध सडकहरू
चितवनको इच्छाकामना गाउँपालिका–५ मा आज बिहान ५:३५ बजे पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रअन्तर्गत चारकिलो, कोदारी र लिपिङमा पहिरो खसेपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ।
ललितपुरको बागमती गाउँपालिका–३ पाण्डुर र मकवानपुरको ठिंगन क्षेत्रमा पहिरोका कारण कान्ति लोकपथमा सवारी आवागमन ठप्प भएको छ। मकवानपुर खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।इलामको राजदुवाली क्षेत्रमा पहिरो खसेपछि मेची राजमार्ग पूर्ण रूपमा बन्द छ।
काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डस्थित बी.पी. राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण दैनिक साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन रोकिएको छ।पूर्वी रुकुमको भुमे गाउँपालिकामा पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
बागलुङको बेलबगर र पाल्पाको निस्दी क्षेत्रमा पहिरो तथा बाढीका कारण कालीगण्डकी कोरिडोर बन्द रहेको छ।
यस्तै, रुकुम पश्चिमको भेरी कोरिडोर, मुगुको नाग्म–गमगढी सडक तथा जुम्लाको नाग्म सडक खण्डमा पनि बाढी र पहिरोका कारण यातायात सञ्चालन हुन सकेको छैन। रसुवाको त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी सडक र दोलखाको लामासाँघु–रामेछाप सडक पनि पूर्ण रूपमा अवरुद्ध छन्। दोलखामा भने वैकल्पिक मार्ग सञ्चालनका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ।
एकतर्फी सञ्चालनमा रहेका सडकहरू
काठमाडौंको नागार्जुन–८ स्थित सितापाइला–धार्के सडक खण्डमा पहिरो पन्छाएपछि एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको छ।
मनाङको चामे–बेँसिशहर सडक र मुस्ताङको बेनी–जोमसोम सडक खण्डका केही स्थानमा पनि एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।भोजपुरको बोखिम क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्गसमेत एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।
नेपाल प्रहरीले निरन्तर वर्षाका कारण सडक अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भन्दै अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न तथा यात्रा गर्नुअघि नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आधिकारिक सूचना हेरेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *