ललितपुर, असार ८ — काठमाडौंस्थित सोह्रखुट्टे प्रहरी वृत्तको हिरासत कक्षभित्रै गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङको नेतृत्वमा आएको टोलीले हिरासतमा रहेका व्यक्तिमाथि मानसिक दबाब, गालीगलौज तथा ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ।
अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले संयुक्त रूपमा आयोगमा दिएको निवेदनमा जेठ १९ गते सोह्रखुट्टे प्रहरी वृत्तको हिरासतमा रहँदा गृहमन्त्री गुरुङसहितको टोली अनधिकृत रूपमा हिरासत क्षेत्रमा प्रवेश गरी आफूहरूमाथि मानसिक यातना, धम्की र मानव अधिकार उल्लंघन गरेको दाबी गरेका छन्।
निवेदनअनुसार उनीहरू कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको तथा सीमा समस्याको विषयमा भारतीय दूतावास अगाडि शान्तिपूर्ण रूपमा प्लेकार्ड प्रदर्शन गरिरहेका बेला प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो। त्यसपछि हिरासतमै आएको टोलीले आफूहरूलाई विभिन्न किसिमका दबाब दिएको आरोप उनीहरूले लगाएका छन्।
उजुरीमा गृहमन्त्रीजस्तो उच्च पदमा रहेको व्यक्तिको प्रत्यक्ष संलग्नताले घटनालाई अझ गम्भीर बनाएको उल्लेख गरिएको छ। निवेदकहरूले उक्त कार्य नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, न्यायसम्बन्धी अधिकार तथा यातनाविरुद्धको अधिकारको उल्लंघन भएको दाबी गरेका छन्।
निवेदनमा प्रहरी प्रशासनको लापरवाही वा मिलेमतोका कारण हिरासतमा रहेका व्यक्तिहरूको सुरक्षा सुनिश्चित हुन नसकेको उल्लेख गर्दै घटनासम्बन्धी प्रमाण नष्ट हुन सक्ने तथा पीडितमाथि थप दबाब बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
मानव अधिकार आयोगसमक्ष निवेदकहरूले तीन बुँदे माग राखेका छन्। उनीहरूले आयोगको विशेष टोलीद्वारा तत्काल स्थलगत अनुगमन गरी पीडितहरूको बयान लिन, घटनासँग सम्बन्धित सम्पूर्ण सीसीटीभी फुटेज, भिजिटर लग तथा ड्युटी रजिस्टर सुरक्षित गर्न, साथै दोषी ठहरिएका व्यक्तिमाथि कानुनी तथा विभागीय कारबाही अघि बढाउन आग्रह गरेका छन्।
निवेदकहरूले लोकतान्त्रिक शासन व्यवस्था र मानव अधिकारको संरक्षणका लागि आयोगले उक्त घटनालाई उच्च प्राथमिकतामा राखी तत्काल छानबिन प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गरेका छन्।
