काठमाडौं ! सरकारले सुकुम्बासीलाई पुर्नरवासकाे व्यवस्था नगरी हाेल्डिङ्ग सेन्टरबाट नहटाउन माग गर्दै काठमाडौंकाे माइतीघर मा सुकुम्बासीले प्रदर्शन गरेका छन् ।
सुरक्षित पुनर्स्थापना, भू–स्वामित्वसहितको बास अधिकार तथा सम्मानजनक आवासको सुनिश्चितता नगरी होल्डिङ सेन्टरबाट कुनै पनि परिवारलाई नहटाउन माग गर्दै भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूले शनिबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले माइतीघरदेखि बबरमहलसम्म र्याली निकाल्दै सरकारले पटक–पटक गरेको प्रतिबद्धता कार्यान्वयन गर्न तथा संविधान र कानुनबमोजिम दिगो, न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरे।
प्रदर्शनकारीहरूले पुनर्स्थापना गर्नुपर्ने अवस्था आएमा घर भत्काइएको स्थानमै वा कानुनबमोजिम उपयुक्त स्थानमा भू–स्वामित्वसहित स्थायी आवासको व्यवस्था गर्नुपर्ने माग पनि अघि सारे।
प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा बसोबास गरिरहेका भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीका तर्फबाट दलमर्दन कामीले होल्डिङ सेन्टर खाली गर्न पटक–पटक दबाब दिइँदा त्यहाँ बसोबास गर्नेहरू मानसिक तनावमा परेको बताए। उनका अनुसार विभिन्न सरकारी निकाय र सुरक्षाकर्मीहरूले २५ हजार रुपैयाँ लिएर होल्डिङ सेन्टर छाड्न दबाब दिएको आरोप लगाए। सरकारले आफूहरूलाई सडकमा अलपत्र पार्न खोजेको भन्दै उनले तत्काल उचित र स्थायी व्यवस्थापन गर्न आग्रह गरे।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘डोजर होइन, समाधान दे’, ‘जनता मार्न पाइँदैन’, ‘यस्तो सरकार चाहिँदैन’ र ‘गरिबमाथिको ज्यादती बन्द गर’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।
स्मरण रहाेस् , अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै होल्डिङ सेन्टरमा बसोबास गरिरहेकाहरूलाई असार १९ गतेभित्र स्थान खाली गर्न निर्देशन दिएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
