बुटवल, असार १३ — प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा मृत्यु भएको छ।
शनिबार स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडक खण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप जिप दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर घाइते भएका उपप्रमुख राना मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी नरहरि अधिकारीका अनुसार उपप्रमुख राना आफैंले जिप चलाइरहेका बेला सवारी साधन सडकबाट तल खसेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
डीएसपी अधिकारीले उपप्रमुख राना नगरपालिकाको सवारी साधन लिएर अनुगमनका लागि निस्किएका बेला दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको बताए।
घटनाको जानकारी पाएलगत्तै प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र अन्य सुरक्षा निकायको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *