चितवन । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनले नयाँ नेतृत्व चयनभन्दा बढी प्रतिनिधि सहभागिता, निर्वाचन व्यवस्थापन र पार्टीले दाबी गर्दै आएको ‘हाइटेक’ प्रणालीको प्रभावकारितामाथि प्रश्न उठाएको छ।
महाधिवेशनको बन्दसत्र सुरु हुन दुई दिन लागेपछि पार्टीले कुल ४,३११ प्रतिनिधि रहेको जानकारी दिएको थियो। तर केन्द्रीय समिति सदस्य चयनका लागि भएको पहिलो चरणको मतदानमा २,९५९ प्रतिनिधि मात्र सहभागी भए। अर्थात् सुरुआतमै १,३५२ प्रतिनिधि (करिब ३१ प्रतिशत) मतदान प्रक्रियाबाट बाहिर रहेको तथ्यांकले देखायो।
पदाधिकारी चयनका लागि भएको दोस्रो चरणको मतदानमा भने मतदाता संख्या झन् घटेर १,२८९ मा सीमित रह्यो। घोषित प्रतिनिधिको आधारमा हेर्दा ३,०२२ प्रतिनिधि (करिब ७० प्रतिशत) मतदानमा सहभागी भएनन्।
पहिलो चरणमा मतदान गरेका २,९५९ प्रतिनिधिमध्ये पनि दोस्रो चरणमा १,६७० जना मतदान प्रक्रियामा अनुपस्थित देखिएका छन्। केही घण्टाको अन्तरालमै मतदाता सहभागिता ६८ प्रतिशतबाट करिब ३० प्रतिशतमा झर्नुले महाधिवेशन व्यवस्थापन र निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।
महाधिवेशन नसकिँदै ठूलो संख्यामा प्रतिनिधि मतदानबाट बाहिरिनुको कारणबारे पार्टी नेतृत्वले स्पष्ट जवाफ दिनुपर्ने आवाज उठ्न थालेको छ। रास्वपाभित्रकै असन्तुष्ट समूहले यसलाई प्रतिनिधिको सामूहिक बहिष्कार, निर्वाचन प्रक्रियाप्रतिको अविश्वास वा व्यवस्थापनको असफलता मध्ये कुन हो भन्ने प्रश्न उठाइरहेको छ।
लोकतान्त्रिक अभ्यासमा निर्वाचन सम्पन्न हुनु मात्रै पर्याप्त नभई, घोषित प्रतिनिधिमध्ये ठूलो संख्या मतदान प्रक्रियाबाट किन बाहिरियो भन्ने विषयको पारदर्शी जवाफ पनि आवश्यक रहेको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *