कालिकोट। हिमाली जिल्ला कालिकोटमा पनि लामखुट्टेबाट सर्ने रोगका बिरामी देखिन थालेका छन्। विगतमा मुख्यतः तराई तथा पहाडी जिल्लामा मात्र देखिने डेङ्गी, औलो र कालाजार पछिल्ला केही वर्षयता हिमाली क्षेत्रमा समेत फैलिन थालेका हुन्।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा लामखुट्टेबाट सर्ने रोगका १९ जना बिरामी फेला परेका छन्। तीमध्ये डेङ्गीका १० जना, कालाजारका आठ जना र औलोका एक जना रहेका छन्।
जिल्लाका नौ स्थानीय तहमध्ये छ स्थानीय तहमा यी रोगका बिरामी भेटिएका छन्। डेङ्गीका बिरामीमध्ये खाँडाचक्र नगरपालिकामा आठ जना, पलाँता गाउँपालिकामा एक जना र नरहरिनाथ गाउँपालिकामा एक जना रहेका छन्।
त्यस्तै, कालाजारका बिरामीमध्ये खाँडाचक्र नगरपालिकामा दुई जना, पचालझरना गाउँपालिकामा दुई जना तथा रास्कोट नगरपालिका, शुभकालिका गाउँपालिका, पलाँता गाउँपालिका र नरहरिनाथ गाउँपालिकामा एक–एक जना रहेका छन्। औलोको एक मात्र बिरामी खाँडाचक्र नगरपालिका–२ मा भेटिएका थिए, जो बाहिरबाट आएको (आयातित) सङ्क्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख रत्नवीर सुनारका अनुसार जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा पहिले चिसो मानिने हिमाली क्षेत्रमा पनि लामखुट्टे बाँच्न र प्रजनन गर्न अनुकूल वातावरण बनेको छ। साथै, जिल्लावासीको तराईसँग बढ्दो आवतजावत, सडक निर्माण, बजार विस्तार तथा अव्यवस्थित बस्तीका कारण पानी जम्ने स्थान बढेकाले लामखुट्टेको प्रजननमा थप सहयोग पुगेको उनले बताए।
उनका अनुसार विशेषगरी कर्णाली नदी र तिला नदी आसपासका तल्लो भेगमा लामखुट्टेबाट सर्ने रोगका बिरामी बढी देखिएका छन्। त्यसैले जोखिमयुक्त क्षेत्रलाई लक्षित गरी निगरानी र रोकथामका कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
महामारी फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरी लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिरहेको छ। साथै, घरभित्र तथा घरबाहिर पानी जम्न नदिने, वातावरण सफा राख्ने, झुलको प्रयोग गर्ने र लामखुट्टेको टोकाइबाट बच्ने उपायबारे व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको कार्यालयले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *