चितवन । मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोको जोखिम बढेपछि मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मुग्लिन बजार नजिकै सुक्खा पहिरो निरन्तर खसिरहेकाले मानवीय जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो।
मंगलबार दिउँसो दुई पटक पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि थप पहिरो खस्ने सम्भावना रहेकाले रातिको आवागमन स्थगित गरिएको प्रशासनले जनाएको छ। यात्रुलाई सुरक्षित समयपछि मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ।
