काठमाडौं: नेपाल अटोमोबाइल्स एसोसिएसन (NASA Nepal) ले “युथ लिडरशिप प्रोग्राम २०२६” को पहिलो सत्र सफलतापूर्वक सम्पन्न गरेको छ।

शनिबार आयोजित उक्त कार्यक्रम युवाहरूमा नेतृत्व विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। कार्यक्रममा इन्जिनियरिङ, अटोमोबाइल, शैक्षिक क्षेत्र, साहसिक पर्यटन तथा मोटरसाइकलिङसँग सम्बन्धित ६८ जना युवाहरूको सहभागिता रहेको थियो। कार्यक्रम Fédération Internationale de Motocyclisme (FIM) सँगको सहकार्यमा आयोजना गरिएको हो।

NASA Nepal द्वारा जारी प्रेस विज्ञप्तिअनुसार, कार्यक्रमको उद्देश्य नेपालमा मोटरस्पोर्ट्स तथा सुरक्षित आवागमनका क्षेत्रमा भावी नेतृत्व विकास गर्नु हो। कार्यक्रम डिसेम्बरसम्म सञ्चालन हुनेछ र यसअन्तर्गत भौतिक, भर्चुअल तथा प्रायोगिक गरी १२ सत्रहरू समावेश गरिएका छन्।

कार्यक्रममा सहभागीहरूलाई पाँच प्रमुख क्षेत्रमा प्रशिक्षण प्रदान गरिनेछ मोटरस्पोर्ट्स व्यवस्थापन, सडक सुरक्षा, सञ्चार तथा मिडिया, खेल नवप्रवर्तन र FIM को विरासत, साथै दुईपाङ्ग्रे सवारी तथा साहसिक पर्यटन।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहता ले मोटरस्पोर्ट्स नेपाली युवामाझ क्रमशः लोकप्रिय बन्दै गएको उल्लेख गर्दै यस्ता नेतृत्व विकास कार्यक्रमले युवालाई सशक्त बनाउने बताए।

कार्यक्रममा कार्यकारी सदस्य सुवर्ण केसरी श्रेष्ठ तथा पूर्व उपाध्यक्ष पीताम्बर तिमिल्सिना ले पनि शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको सुरुवातमा कार्यक्रम संयोजक कमला क्षेत्री ले स्वागत मन्तव्य राख्दै यो पहलले मोटरस्पोर्ट्स, साहसिक पर्यटन, मोबिलिटी र सडक सुरक्षाको क्षेत्रमा जिम्मेवार तथा दूरदर्शी नेतृत्व उत्पादन गर्ने विश्वास व्यक्त गरिन्। उनले नेतृत्व पद मात्र नभई जिम्मेवारी, दृष्टिकोण र सकारात्मक परिवर्तन ल्याउने क्षमतासँग सम्बन्धित रहेको बताइन्।

कार्यक्रमका क्रममा विभिन्न क्षेत्रका विज्ञहरूले प्रस्तुति दिएका थिए। सौरभ ज्योति ले मोटरस्पोर्ट्स, सडक सुरक्षा र कर्पोरेट क्षेत्रबीचको सम्बन्धबारे बोलेका थिए।

खेल विशेषज्ञ सुलोचना सिजाख्वा ले दीर्घकालीन राइडर तथा खेलाडी विकास चक्रबारे प्रस्तुति दिइन्। त्यस्तै, डाक्टर ज्ञानेन्द्र शाह ले मोटरसाइकल सुरक्षा तथा एन्टी-डोपिङ विषयमा, कर्पोरेट प्रशिक्षक सुरेश आचार्य ले नेतृत्व, सिर्जनशीलता र टिमवर्कबारे, तथा डाक्टर अभिषेक श्रेष्ठ ले भावी कार्यक्रम तथा मेन्टरशिपको महत्वबारे प्रस्तुति दिएका थिए।

कार्यक्रमका दौरान Fédération Internationale de l’Automobile, International Union of Powerboating तथा Global Alliance of NGOs for Road Safety जस्ता अन्तर्राष्ट्रिय संस्थाका महत्वपूर्ण दस्तावेजहरू पनि सहभागीहरूलाई उपलब्ध गराइएको थियो।

NASA Nepal का अध्यक्ष दशरथ रिसाल को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम कार्यकारी निर्देशक गोविन्द भट्टराई ले सञ्चालन गरेका थिए। कार्यक्रममा सल्लाहकार ठाकुर न्यौपाने, वरिष्ठ उपाध्यक्ष डाक्टर बुलन्द थापा, उपाध्यक्ष सिताराम न्यौपाने लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको समापनमा मोटरसाइकल आयोगका प्रमुख तथा उपाध्यक्ष अनिल कुमार बराल ले नेपाली मोटरस्पोर्ट्स अब परिपक्वताबाट युवातर्फ, केन्द्रीकरणबाट स्थानीयकरणतर्फ, शौकिया अवस्थाबाट पर्यटनतर्फ र शक्तिबाट प्रविधितर्फ अघि बढ्ने विश्वास व्यक्त गरे।

NASA Nepal का अनुसार, यस्ता युवा नेतृत्व विकास कार्यक्रमहरूले नेपाली मोटरस्पोर्ट्स क्षेत्रमा नयाँ ऊर्जा र गति ल्याउने अपेक्षा गरिएको छ। कार्यक्रमको अर्को सत्र आगामी महिना कुमारिपाटीस्थित Kantipur Valley College मा आयोजना हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *