लियोनल मेसी र फिफा विश्वकपको इतिहास अहिले लगभग पर्यायवाचीजस्तै बनेका छन्। उनले विश्वकपमा जति खेल्दै जान्छन्, उति नै नयाँ कीर्तिमानहरू थपिँदै गएका छन्। यस्तो लाग्छ, मेसी कीर्तिमानको पछि होइन, बरु कीर्तिमान नै उनको प्रतीक्षामा बसेको छ।
फिफा विश्वकपको ९६ वर्षे इतिहासमा मेसीले सर्वाधिक खेल खेल्ने, सर्वाधिक गोल गर्ने लगायत दर्जनौं कीर्तिमान आफ्नो नाममा लेखाइसकेका छन्। हाल उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा पनि उनले हरेक खेलसँगै नयाँ इतिहास रचिरहेका छन्।
सोमबार राति डालास स्टेडियममा अस्ट्रियाविरुद्ध दुई गोल गर्दै मेसी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने। यससँगै उनले विश्वकपमा आफ्नो गोल संख्या १८ पुर्याउँदै नयाँ कीर्तिमान कायम गरे।
मेसी लगातार विभिन्न संस्करणका विश्वकप खेल्ने दुर्लभ खेलाडीमध्ये एक हुन्। सन् २०२२ को कतार विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध खेल्दै उनले विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने कीर्तिमान बनाएका थिए। २०२६ विश्वकपको समूह चरणका दुई खेलपछि उनको खेल संख्या २८ पुगेको छ।
यस्तै, मेसी विश्वकप इतिहासमा सर्वाधिक खेल जित्ने खेलाडी पनि बनेका छन्। यसअघि अल्जेरियाविरुद्धको जितपछि उनले जर्मनीका मिरोस्लाभ क्लोजेको १७ जितको कीर्तिमान बराबरी गरेका थिए। अस्ट्रियाविरुद्धको जितसँगै उनले १८ जित दर्ता गर्दै एक्लै शीर्ष स्थान कब्जा गरेका छन्।
अर्को ऐतिहासिक उपलब्धिका रूपमा मेसीले लगातार पाँच विश्वकपमा असिस्ट गर्ने कीर्तिमान पनि बनाइसकेका छन्। यदि उनले यस संस्करणमा थप असिस्ट गर्न सके भने लगातार छ विश्वकपमा असिस्ट गर्ने विश्वकै पहिलो खेलाडी बन्नेछन्।
विश्वकपमा सर्वाधिक असिस्ट गर्ने खेलाडीको सूचीमा पनि मेसी शीर्ष स्थानमा छन्। अर्जेन्टिनी महान् खेलाडी डिएगो म्याराडोनासँग संयुक्त रूपमा ८ असिस्ट गरेका मेसीलाई नयाँ कीर्तिमान बनाउन अब केवल एक असिस्टको आवश्यकता छ।
विश्वकप उपाधिदेखि दुई गोल्डेन बलसम्म
मेसीले सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउँदै आफ्नो करियरलाई पूर्णता दिएका थिए। व्यक्तिगत उपलब्धिको हिसाबले पनि उनी विश्वकप इतिहासका सबैभन्दा सफल खेलाडीमध्ये एक हुन्।
सन् २०१४ मा अर्जेन्टिनालाई फाइनलसम्म पुर्याएर गोल्डेन बल जितेका मेसीले २०२२ मा विश्वकप उपाधिसँगै पुनः गोल्डेन बल जितेका थिए। उनी विश्वकपमा दुई पटक गोल्डेन बल जित्ने एकमात्र खेलाडी हुन्।
त्यसैगरी, मेसीले विश्वकपमा सर्वाधिक ११ पटक प्लेयर अफ द म्याच अवार्ड जितेका छन्। विश्वकप इतिहासमा सबैभन्दा धेरै मिनेट खेल्ने खेलाडीको कीर्तिमान पनि उनकै नाममा छ। उनले २,४०० भन्दा बढी मिनेट मैदानमा बिताइसकेका छन्।
यसबाहेक, विश्वकपमा सर्वाधिक ६७ अवसर सिर्जना गर्ने कीर्तिमान पनि मेसीकै नाममा रहेको छ।
३९ वर्षको उमेरमा समेत मेसीले विश्व फुटबलमा आफ्नो प्रभाव कायम राखेका छन्। उनले हरेक खेलसँगै नयाँ कीर्तिमान थपिरहेका छन् र विश्वकप इतिहासमा आफ्नो नाम अझ स्वर्णिम बनाउँदै लगेका छन्।
