चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा नयाँ नेतृत्व चयनको विषय केन्द्रमा परेको छ। उद्घाटन सत्र सम्पन्न भएपछि प्रतिनिधिहरूबीच नेतृत्वको समीकरणबारे छलफल बढेको छ भने केही नेता तथा प्रतिनिधि अनौपचारिक रूपमा पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि समर्थन जुटाउन सक्रिय देखिएका छन्।
प्रतिनिधि कार्डमा देखिएका त्रुटि सच्याउने काम तथा मधेस प्रदेशको प्रतिनिधित्वसम्बन्धी विवादका कारण बन्दसत्र निर्धारित समयमै सुरु हुन नसकेको नेताहरूले बताएका छन्। यसका कारण राजनीतिक, सांगठनिक तथा विधानसम्बन्धी विभिन्न प्रस्तावहरू अझै प्रस्तुत हुन सकेका छैनन्।
पार्टीले १९ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने तयारी गरेको छ। सभापति पदमा रवि लामिछाने र वरिष्ठ नेता पदमा बालेन्द्र (बालेन) शाह निर्विरोध हुने सम्भावना रहे पनि अन्य पदहरूमा प्रतिस्पर्धा हुने देखिएको छ। नेतृत्वले सहमतिमै केन्द्रीय समिति चयन गर्ने प्रयास गरिरहेको बताइए पनि त्यसबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
विभिन्न समूह र धार समेटेर बनेको पार्टी भएकाले सबै पक्षको सन्तुलन मिलाउँदै नेतृत्व चयन गर्नुपर्ने चुनौती रहेको छ। यही कारण सहमतिबाटै नेतृत्व टुंग्याउने विषयलाई प्राथमिकतामा राखिएको बताइएको छ। महाधिवेशनअघि बसेको सचिवालय बैठकले पनि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई सबै पक्ष मिलाएर नेतृत्व चयन गर्ने जिम्मेवारी दिएको थियो।
रास्वपाको विधानअनुसार दुई महामन्त्री पद रहने व्यवस्था छ। पार्टी स्रोतका अनुसार सहमति जुट्न नसकेमा ती दुई पदका लागि झन्डै एक दर्जन नेताहरू प्रतिस्पर्धामा उत्रिन सक्ने अवस्था छ। वर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी र भूपदेव शाहसँगै मनिष झा, शिशिर खनाल, विपिन आचार्य, गणेश पराजुली, यज्ञमणि न्यौपाने र लिमा अधिकारीलगायतले महामन्त्री पदमा रुचि देखाएका छन्।
लिमा अधिकारीले उपसभापति पद नपाए महामन्त्री पदको दाबी नछोड्ने संकेत गरेको चर्चा छ। धेरै आकांक्षी र समूहगत सन्तुलनको चुनौतीका कारण महामन्त्रीसहित अन्य पदको व्यवस्थापन गर्न नेतृत्वलाई कठिनाइ भइरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *