काठमाडौं । सदनमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा विपक्षी दलहरूको विरोध कायमै रहेको छ। बुधबारको बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीको भनाइ सच्याउन तथा संसदको अभिलेखबाट हटाउन सभामुखको रुलिङ माग गरेका छन्।
नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्री स्वयंले गैरजिम्मेवार अभिव्यक्ति दिएपछि मन्त्रीहरूमा पनि त्यस्तै प्रवृत्ति बढेको आरोप लगाए। उनले मन्त्रीहरूले सार्वजनिक रूपमा धम्कीपूर्ण र गैरजिम्मेवार अभिव्यक्ति दिँदै आएको भन्दै सरकारको आलोचना गरे।
शर्माले दण्डहीनताले प्रश्रय पाएको दाबी गर्दै कानुन कार्यान्वयनमा सरकार कमजोर देखिएको बताए। उनले मन्त्रीहरूबाट कानुन विपरीतका गतिविधि र अभिव्यक्ति सार्वजनिक रूपमा आउने गरेको उल्लेख गरे।
यस्तै, श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई राखिएका होल्डिङ सेन्टरमा आधारभूत सुविधाको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले प्रभावित नागरिकको पुनर्वासका लागि बजेटमार्फत उचित व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
