फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को आफ्नो पहिलो खेलमा पोर्चुगल डीआर कंगोसँग १–१ गोलको बराबरीमा रोकिएको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता लिए पनि पोर्चुगल त्यसलाई जोगाउन असफल रह्यो।
पोर्चुगलका जोआओ नेभेसले खेलको छैटौं मिनेटमा पेड्रो नेटोको क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर डीआर कंगोले उत्कृष्ट पुनरागमन गर्दै पहिलो हाफको अन्त्यतिर बराबरी गोल फर्कायो। यो गोल योआने विस्साले कर्नरबाट आएको बललाई हेडमार्फत जाली चुमाउँदै गरेका थिए।
सन् १९७४ मा जायरको नामबाट विश्वकप खेलेपछि ५२ वर्षको अन्तरालमा प्रतियोगितामा फर्किएको डीआर कंगोका लागि यो नतिजा विशेष रह्यो। टोलीले विश्वकप इतिहासमा लामो समयपछि अंक मात्र होइन, गोलसमेत दर्ता गर्न सफल भयो।
पोर्चुगलले खेलभर बल नियन्त्रणमा राख्दै दबाब सिर्जना गरे पनि निर्णायक गोल निकाल्न सकेन। कप्तान क्रिस्टियानो रोनाल्डोले लगातार छैटौं विश्वकप खेलेर अर्जेन्टिनाका लियोनल मेसीको कीर्तिमान बराबरी गरे, तर यस खेलमा गोल गर्न भने सकेनन्।
बराबरीसँगै दुवै टोलीले समूह चरणको सुरुआती खेलबाट एक–एक अंक बटुलेका छन्।
