काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशनमा बहालवाला सभापति तथा सांसदहरू नै पराजित भएका छन्। पार्टीले संघीय सांसदलाई तल्लो तहका समितिमा उम्मेदवार नबन्न निर्देशन दिए पनि केही सांसदहरूले उम्मेदवारी दिएका थिए
बागमती प्रदेशमा वर्तमान सभापति तथा नुवाकोट–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछाने २ मतले पराजित भए। मकवानपुरका उत्सव अर्याल ४१६ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुँदा लामिछानेले ४१४ मत पाए।
मतदाता नामावली, नेतृत्व छनोट र मतपत्रसम्बन्धी विवादका कारण अधिवेशन प्रभावित बनेको थियो। अन्ततः अन्य उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएपछि अर्याल र लामिछानेबीच सीधा प्रतिस्पर्धा भएको थियो।
गण्डकी प्रदेशमा बहालवाला सभापति तथा सांसद राजन गौतम पनि पराजित भए। नवीन त्रिपाठी २३४ मतसहित विजयी हुँदा गौतमले १८२ मत प्राप्त गरे।
यस्तै, लुम्बिनी प्रदेशमा समानुपातिक सांसद मञ्जु ज्ञवाली भुसाल सभापति पदको दौडमा पराजित भइन्। पहिलो चरणमा कसैले बहुमत प्राप्त गर्न नसकेपछि दोस्रो चरणअघि गोपाल घिमिरेले उम्मेदवारी फिर्ता लिएर शालिकराम घिमिरेलाई समर्थन गरेपछि उनी सर्वसम्मत रूपमा सभापति चयन भए।
विवादका कारण मधेस प्रदेशमा अधिवेशन स्थगित भएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिवेशन प्रक्रिया जारी रहेको निर्वाचन आयोगले जनाएको छ।
